बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव

२७ बैशाख , सिरहा । सिरहा क्षेत्र न २ का  प्रतिनिधि सभा सदस्य शिवशंकर यादवले बरियारपट्टी छोटी भन्सार कायम तथा यसको स्तर उन्नतिका लागि आफू निरन्तर पहलमा रहेको बताएका छन्। उनले प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुअघि देखि नै उक्त विषयलाई जनताको सरोकारको मुद्दाका रूपमा उठाउँदै आएको उल्लेख गरेका छन्।
सांसद यादवले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै Genz आन्दोलनको समयदेखि नै बरियारपट्टी छोटी भन्सारको विषयलाई प्राथमिकताका साथ उठाइएको बताए। उनले तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल सँग पटक–पटक छलफल गरिएको तथा लहान भ्रमणका क्रममा Genz अभियानका प्रतिनिधिसँग समेत विस्तृत संवाद भएको जानकारी दिए।
उनका अनुसार सो अवसरमा बरियारपट्टी छोटी भन्सार कायम गर्न ज्ञापनपत्र समेत बुझाइएको थियो। यादवले हाल पनि भन्सार विभागका महानिर्देशक तथा अर्थमन्त्री स्वर्णिम वाग्ले सँग निरन्तर समन्वय भइरहेको बताए। उनले पार्टी सभापतिको समन्वयमा समेत विषयलाई अगाडि बढाइरहेको दाबी गरेका छन्।
“म आन्दोलनबाट आएको मान्छे हुँ। संघर्षको मूल्य, जनताको पीडा र सीमावर्ती क्षेत्रको आवश्यकता मैले नजिकबाट बुझेको छु,” यादवले भनेका छन्। उनले बरियारपट्टी छोटी भन्सारको विषयलाई व्यक्तिगत वा दलगत स्वार्थको माध्यम नबनाउन आग्रह गर्दै समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
सांसद यादवले बरियारपट्टी छोटी भन्सार सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकता रहेको उल्लेख गर्दै यसको स्थायी समाधानका लागि आफ्नो पहल र संघर्ष निरन्तर जारी रहने बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    मोदीसँगको भेट फलदायी, विकास कूटनीतिको नयाँ युगमा सहमति : रवि

    Read more

    पार्टीको नेतृत्व नछोड्ने ओलीको घोषणा, ‘बीचमै झोला फ्याकेर भाग्दिनँ’

    Read more