पेट्रोलियमपछि अब पिउने पानीको मूल्य बढ्ने तयारी

६ बैशाख , काठमाडौ । — पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएको अवस्थामा अब नेपालमा पिउने पानीको मूल्य पनि बढ्ने संकेत देखिएको छ। प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योगहरूको छाता संगठन नेपाल पानी उद्योग महासंघले उत्पादन लागतमा उल्लेख्य वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।
महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै कारणले उद्योग सञ्चालनमा गम्भीर चुनौती आएको उल्लेख गरिएको छ। कच्चा पदार्थ, प्याकेजिङ सामग्री, ढुवानी खर्च तथा ऊर्जा लागतमा भएको वृद्धि कारण उद्योगहरू आर्थिक दबाबमा परेको महासंघको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “हालको अवस्थामा पुरानै मूल्यमा उत्पादन र वितरण गर्न उद्योगहरूलाई अत्यन्त कठिन भइरहेको छ। यस्तो अवस्थामा मूल्य समायोजन अपरिहार्य बनेको छ।”
महासंघका अनुसार इन्धनको मूल्यवृद्धिले ढुवानी खर्च बढाएको छ भने आयातित कच्चा पदार्थको मूल्य वृद्धि तथा विनिमय दरमा आएको उतारचढावले पनि लागत थप बढाएको छ। यसका साथै विद्युत् तथा श्रम खर्चमा भएको वृद्धि पनि उद्योगका लागि थप भार बनेको जनाइएको छ।
मूल्य वृद्धि भएमा यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने निश्चित छ। विशेषगरी सहरी क्षेत्रमा दैनिक उपभोगका लागि प्रशोधित पानीमा निर्भर उपभोक्ता थप प्रभावित हुनेछन्।
यद्यपि, सरकारले यस विषयमा हालसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। उपभोक्ता अधिकारकर्मीहरूले भने मूल्य वृद्धि गर्नु अघि पारदर्शिता र नियमन आवश्यक रहेको बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा कर्फ्यु अन्त्य, निषेधाज्ञा भने यथावत्

    Read more

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more