३० चैत, काठमाडौं — उद्योग मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार उनको नाममा काठमाडौं र महोत्तरीमा ठूलो परिमाणमा जग्गा, सुनचाँदी, बैंक मौज्दात तथा करोडौँको लगानी रहेको देखिएको छ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा १ रोपनी १ आना २ दाम क्षेत्रफलमा तीनतले घर रहेको छ भने वडा नम्बर १० का विभिन्न स्थानमा १४ आना, ७ आना १ पैसा २ दाम र ९ आना १ पैसा ३ दाम जग्गा रहेको उल्लेख गरिएको छ।
त्यसैगरी महोत्तरी जिल्लाको बर्दिबास क्षेत्रमा क्रमशः १४ कठ्ठा, १५ कठ्ठा तथा करिब साढे ६ बिघा जग्गा रहेको छ। सम्सीमा १ कठ्ठा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी समेत उनको स्वामित्वमा रहेको विवरणमा उल्लेख छ।
सम्पत्ति विवरणअनुसार मन्त्री यादवसँग १८० तोला सुन, २ किलो चाँदी र हिराका ४ वटा रिङ रहेका छन्। बैंक मौज्दाततर्फ विभिन्न बैंकहरूमा गरी करिब १० लाख रुपैयाँ बचत रहेको छ—सिद्धार्थ बैंकमा ४ लाख, लक्ष्मी सनराइज बैंकमा १ लाख, ग्लोबल आईएमई बैंकमा २ लाख, सीभीआईसीमा १.५ लाख र मनमोहन स्वास्थ्य सहकारीमा १.५ लाख रुपैयाँ रहेको जनाइएको छ।
यसका साथै विभिन्न कम्पनीहरूमा उनको कुल ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको छ।
ऋणतर्फ शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ र कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँ अटो ऋण रहेको उल्लेख छ। उक्त ऋणअन्तर्गत करिब ५७ लाख रुपैयाँ मूल्यको कार पनि समावेश गरिएको छ।
यस्तै, मन्त्री यादवले ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएकी छन्, जसबाट मासिक ९० हजार रुपैयाँ भाडा आम्दानी भइरहेको विवरणमा उल्लेख गरिएको छ।


















