१ चैत, जनकपुरधाम। — जनकपुरधाम नगर क्षेत्रभित्र ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ठूला सवारी साधनको प्रवेश निषेध सम्बन्धी होडिङ बोर्ड जडान गरिएको छ।
आज जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा (जिरोमाइल)को पहलमा जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक होडिङ बोर्डहरू राखिएको हो।
जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णयअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक र टिपरजस्ता ठूला सवारी साधनलाई नगर क्षेत्रभित्र प्रवेश निषेध गरिएको छ।
प्रहरीका अनुसार पिराडी चोकबाट भित्री बाटो हुँदै मिल्स एरिया र भानुचोकसम्मको क्षेत्रमा हाइवे बाहेक अन्य भित्री सडकमा ठूला सवारी साधन प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ।
सडक सुरक्षा अभिवृद्धि, सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त निर्णय कार्यान्वयन गरिएको बताइएको छ।



















