२६ फागुन,काठमाडौँ । श्री जगन्नाथ मन्दिर (पुरी, ओडिशा) मा रहेको मन्दिरको शिखरमा फहराइरहेको ‘पतितपावन बाना’ (पवित्र ध्वज) मा बिहीबार एक बाज (गरुड) बसेको घटनाले करोडौँ श्रद्धालुलाई स्तब्ध बनाएको छ।
सदियौँदेखि चल्दै आएको विश्वास अनुसार मन्दिरको शिखर माथिबाट कुनै पनि चरा उड्दैन भन्ने मान्यता छ। यस्तो अवस्थामा ध्वजमा बाज आएर बसेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जाल र धार्मिक वृत्तमा आस्था, संकेत र भविष्यको व्याख्यालाई लिएर तीव्र बहस सुरु भएको छ।
कतिपय श्रद्धालुले यसलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्। हिन्दू धर्मग्रन्थअनुसार बाजलाई भगवान विष्णुको वाहन ‘गरुड’ मानिन्छ। भक्तजनका अनुसार कलियुगको प्रभाव बढ्दै गइरहेका बेला स्वयं गरुड देव भगवान जगन्नाथको रक्षा गर्न नीलचक्रमा विराजमान भएको संकेत हुन सक्छ। पुरीका केही मठहरूले यसलाई ‘दिव्य सुरक्षा चक्र’ का रूपमा व्याख्या गरेका छन्।
तर भविष्यवाणीसम्बन्धी अध्ययन गर्नेहरूका लागि भने यो घटना चिन्ताको विषय बनेको छ। ओडिशाको चर्चित भविष्यवाणी ग्रन्थ भविष्य मालिका (सन्त अच्युतानंद दास द्वारा रचित) अनुसार मन्दिरको ध्वजमा हिंस्रक चराले बस्नु वा ध्वज खस्नु जस्ता घटनालाई ठूलो युद्ध, प्राकृतिक विपत्ति वा राजनीतिक परिवर्तनको संकेत मानिने उल्लेख गरिएको छ।
धेरै भक्तहरूले सन् २०२० मा मन्दिरको ध्वजमा आगलागी भएको घटनालाई पनि सम्झिरहेका छन्। उक्त घटनापछि केही समयमै विश्वव्यापी महामारी COVID-19 फैलिएको थियो।
पुरीस्थित जगन्नाथ मन्दिरलाई रहस्यमय स्थलका रूपमा पनि चिनिन्छ। यहाँ मन्दिरको गुम्बज माथिबाट चराहरू वा विमानहरू नउड्ने भन्ने विश्वास प्रचलित छ। यस्तो अवस्थामा बाज ध्वजमा आएर केही समय बसेको घटनालाई कतिपयले मन्दिरको परम्परागत आध्यात्मिक मान्यतासँग जोडेर अर्थ्याइरहेका छन्।
हाल उक्त घटनाबारे धार्मिक वृत्तमा विभिन्न व्याख्या भइरहेका छन् भने आधिकारिक रूपमा मन्दिर प्रशासनले भने कुनै टिप्पणी गरेको छैन।


















