इटहरी सभामा बालेनको जोड : स्वदेशी उत्पादन बढाएर आयात निर्भरता घटाउनुपर्छ

१२ फागुन, सुनसरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले देशभित्रकै उत्पादन वृद्धि गरी नेपाली जनतालाई स्वदेशी खाद्यान्न र तरकारी उपभोग गराउने लक्ष्य रहेको बताएका छन्। मंगलबार सुनसरीको इटहरी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वदेशी उत्पादन र बजार व्यवस्थापनलाई प्रमुख एजेन्डाका रूपमा अघि सारे।
सभामा बोल्दै उनले उपस्थित जनतालाई प्रश्न गर्दै भने, “चिया पिउनुभयो? कुन ठाउँको पिउनुभयो? इलाम, दमक को चिया पिउनुभएको होला। तर बिहान खानुभएको तरकारी कहाँको थियो? बोर्डर पारीको थियो कि?” उनले स्वदेशमै उत्पादन हुने तरकारी र खाद्यान्नले बजार नपाउने तर आयातित वस्तुले बजार ओगट्ने अवस्थाप्रति असन्तुष्टि जनाए।
बालेनले तेह्रथुम र पाँचथर जस्ता पूर्वी पहाडी जिल्लामा प्रशस्त तरकारी उत्पादन हुने भए पनि ती उत्पादन झापा, सुनसरी र विराटनगर जस्ता तराईका सहरमा उपभोग हुन नसकेको दाबी गरे। “हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि तराईमा खान पाइँदैन, यो दुःखको कुरा हो,” उनले भने, “यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा।”
उनले कृषि उत्पादन र बजारबीचको असन्तुलन सुधार गर्न आवश्यक नीति तथा संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। पूर्वी पहाडमा उत्पादित तरकारीले उचित बजार नपाउने र तराईमा उत्पादित खाद्यान्नले पर्याप्त उपभोक्ता नपाउने अवस्थालाई उनले नीतिगत असफलताको परिणामका रूपमा व्याख्या गरे।
सभामा उनले बाढीबाट किसानले भोगेका समस्या, उद्योग सञ्चालनमा देखिएका अवरोध, खानेपानी अभाव तथा खेलकुद पूर्वाधारको कमजोरीजस्ता विषय पनि उठाए। समस्यामात्रै औँल्याउने नभई समाधान प्रस्तुत गर्ने राजनीतिक शक्ति बन्ने दाबी गर्दै उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, किसानलाई बजार सुनिश्चित गर्ने र आयात निर्भरता घटाउने नीति आवश्यक रहेको जोड दिए।
इटहरीको सभामार्फत रास्वपाले आर्थिक आत्मनिर्भरता, स्थानीय उत्पादन प्रवर्द्धन र कृषि–उद्योग सुदृढीकरणलाई आफ्नो चुनावी प्रतिबद्धताको केन्द्रमा राखेको स्पष्ट सन्देश दिएको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more