नेपाली कांग्रेस द्वारा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित १० बुँदे भिजन सार्वजनिक

६ फागुन , जनकपुरधाम।  नेपाली कांग्रेस ले मुलुकमा सुशासन, आर्थिक समृद्धि र नागरिकको सम्मान सुनिश्चित गर्ने उद्देश्यसहित आफ्नो विस्तृत १० बुँदे भिजन सार्वजनिक गरेको छ। पार्टीले बुधबार जनकपुरधाममा आयोजित विशेष समारोहमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ मूल नारासहित आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्य र प्रतिबद्धताहरू सार्वजनिक गरेको हो।
कार्यक्रममा पार्टीका सभापति गगन थापा ले कांग्रेसको भिजनले हरेक नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे। उनका अनुसार जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै नागरिकले शिर ठाडो राखेर बाँच्न पाउने वातावरण निर्माण गरिनेछ।
भिजन दस्तावेजअनुसार प्रशासनिक सेवामा हुने ढिलासुस्ती, बेथिति र शक्ति–प्रभावका आधारमा पाइने विशेषाधिकार अन्त्य गरिनेछ। साथै, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै नागरिकले घरमै बसेर सरकारी सेवा पाउने प्रणाली विकास गरिने उल्लेख गरिएको छ।
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारिएको छ। विदेश पलायन रोक्दै युवाहरूलाई नेपालमै रोजगारी र भविष्यको अवसर उपलब्ध गराउने रणनीति पनि दस्तावेजमा समेटिएको छ।
कृषिलाई मर्यादित र आकर्षक पेशाका रूपमा विकास गर्न आधुनिक प्रविधिको प्रयोग र बजार व्यवस्थापन सुदृढ गर्ने योजना अघि राखिएको छ। त्यस्तै, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रको विकासमार्फत समृद्धिको आधार तयार गर्ने लक्ष्य लिइएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाइएको छ। अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउने तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य पनि कांग्रेसको भिजनमा समावेश गरिएको छ।
यसका साथै, नेपालका मौलिक भाषा, संस्कृति, विविधता र सम्पदाको संरक्षण गर्दै आधुनिकता अंगाल्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने सन्तुलित विदेश नीति अवलम्बन गरिने पार्टीले जनाएको छ।
पार्टीले सार्वजनिक गरेको यो भिजनलाई आगामी पाँच वर्षभित्र कार्यान्वयन गर्दै समुन्नत र सम्मानित नेपाल निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more