काठमाडौं, माघ १३ । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहसँग स्पष्टीकरण मागेको छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा बालेनले गरेको टिप्पणीबारे उजुरी परेपछि आयोगले लिखित जवाफ दिन निर्देशन दिएको हो।
आयोग स्रोतका अनुसार सामाजिक सञ्जालमार्फत गरिएको उक्त टिप्पणी निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै उजुरी परेको थियो। सोही आधारमा आयोगले उम्मेदवार शाहलाई निश्चित समयभित्र स्पष्टिकरण पेश गर्न भनेको हो।
झापा–५ मा एमाले अध्यक्ष ओली र बालेन शाहबीच प्रत्यक्ष प्रतिस्पर्धा रहेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालका गतिविधि र अभिव्यक्तिलाई लिएर निगरानी कडा पारिएको आयोगले जनाएको छ।
आयोगले तोकिएको समयसीमाभित्र चित्तबुझ्दो जवाफ नआए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउने संकेत गरेको छ।
















