प्रधानमन्त्री दाबेदारबीच सार्वजनिक बहस गर्न ओलीको आह्वान

काठमाडौं, माघ ११ गते। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूबीच सार्वजनिक बहस (पब्लिक डिबेट) आयोजना गर्न आग्रह गरेका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार अहिले नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा होमिएका छन् र देश बनाउने तथा देश बिगार्ने पक्षबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गरेका छन्। उनले एमाले देश निर्माणको पक्षमा दृढतापूर्वक उभिएको दाबी गरेका छन्।
उनले सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख नेताहरूबीच पारदर्शी बहसको माग भइरहेको सुन्नमा आएको उल्लेख गर्दै मतदातासामु वास्तविक एजेन्डा, कामको विवरण र भविष्यको स्पष्ट योजना प्रस्तुत गर्न पब्लिक डिबेट आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत ‘फ्रेमिङ’ गरिएका प्रचार सामग्री देखाएर वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेकाले आमनेसामने बहस झन् जरुरी भएको उनको भनाइ छ।
ओलीले देशको नेतृत्व गर्न दाबी गर्ने दलहरूले विगतमा गरेका काम, अब गर्ने योजनाको स्पष्ट रोडम्याप तथा नीति–कार्यक्रम सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। यसअघि देशमा ऐतिहासिक भूमिका खेलेका दलदेखि हालै स्थापना भएका नयाँ दलहरूसमेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा आएको सन्दर्भमा प्रत्यक्ष बहसको मञ्च आवश्यक भएको उनले उल्लेख गरेका छन्।
“यसअघि हामीले के–के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु,” ओलीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ। उनले चुनावपछि प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका सबै दलका नेताहरू एउटै मञ्चमा उभिएर सिधा प्रश्न–उत्तर गर्ने वातावरण बनाउन आग्रह गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    मधेश सरकारले प्रहरीलाई ३५ थान १२५ सीसी सुपर स्प्लेन्डर मोटरसाइकल प्रदान

    Read more

    अब ४८ घण्टाअगावै आकस्मिक बाढीको पूर्वसूचना, बाढी पूर्वानुमान पनि ५ दिनसम्म

    Read more