पुस ३०, काठमाडौ ।— नेपाली कांग्रेसको चुनाव चिह्न र पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेको छ। सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन नै नभएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक पत्र बुझाएपछि विवादले संवैधानिक र कानुनी रूप लिएको हो।
देउवा पक्षले बुझाएको पत्रमा पार्टी विधानअनुसार विशेष महाधिवेशन नबोलाइएको र त्यसबाट गरिएका कुनै पनि निर्णय वैधानिक नहुने उल्लेख गरिएको बताइएको छ। सोही आधारमा देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको दाबी गरिएको छ।
तर पार्टीका महामन्त्री गगनकुमार थापाले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको जिकिर गरेका छन्। उनले विशेष महाधिवेशन विधिवत् रूपमा सम्पन्न भइसकेको र त्यससम्बन्धी सम्पूर्ण विवरण निर्वाचन आयोगलाई पहिल्यै जानकारी गराइसकिएको दाबी गरे।
थापाका अनुसार विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भइसकेको हुँदा पार्टीको आधिकारिकता र चुनाव चिह्न ‘रुख’ तथा चारतारे झण्डामाथिको अधिकार नयाँ नेतृत्वसँगै रहने उनको भनाइ छ।
कांग्रेसभित्रको नेतृत्व र वैधानिकताको विवाद चुलिँदै जाँदा अब पार्टीको चुनाव चिह्न र आधिकारिकताको अन्तिम टुंगो निर्वाचन आयोगको निर्णयमा निर्भर हुने देखिएको छ। आयोगको निर्णयले कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनामा दूरगामी असर पार्ने अनुमान गरिएको छ।
















