कांग्रेस विशेष महाधिवेशन विवाद निर्वाचन आयोगमा, आधिकारिकता गगन थापा पक्षधरलाई जाने संकेत

पुस ३०, काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर निर्वाचन आयोगमा दुवै पक्षबाट औपचारिक पत्राचार भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार महाधिवेशन पक्षधर समूहले मंगलबार भृकुटीमण्डपमा कार्यक्रम भइरहेको जानकारी आयोगलाई गराएको थियो।

प्रवक्ता भट्टराईका अनुसार उक्त पक्षले विशेष महाधिवेशनका क्रममा निर्णय भए त्यसको अद्यावधिक विवरण आयोगलाई पठाउने प्रतिबद्धता जनाएको छ। “कार्यक्रम भइरहेको जानकारी आएको छ, निर्णयपछि विवरण पठाउने भनिएको छ,” भट्टराईले बताए।

यसैबीच सभापति शेरबहादुर देउवा पक्षधरहरूले बुधबार निर्वाचन आयोगमा पत्र पठाउँदै आफूहरूको तर्फबाट कुनै पनि विशेष महाधिवेशन नभएको जानकारी गराएका छन्। देउवा पक्षले विशेष महाधिवेशन विधानसम्मत नभएको र त्यसका आधारमा गरिने निर्णय अमान्य हुने दाबी गरेको बुझिएको छ।
कांग्रेसभित्रको आन्तरिक विवाद संवैधानिक निकायसम्म पुगेको अवस्थामा आयोगले दुवै पक्षका कागजात, विधान, प्रक्रिया र तथ्यहरूको अध्ययन गरिरहेको छ। स्रोतका अनुसार उपलब्ध विवरण र प्रक्रियागत आधारका कारण निर्वाचन आयोगले गगन थापा पक्षधरलाई पार्टीको आधिकारिकता दिने सम्भावना उच्च देखिएको छ।

यद्यपि आयोगले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। आयोगको निर्णयसँगै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व, चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डाको वैधानिकता स्पष्ट हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more