बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि हिंसा जारी, २४ घण्टामा दुईको हत्या

पुस २२, ढाका । बंगलादेशमा हिन्दू अल्पसंख्यक समुदायविरुद्धको हिंसा रोकिएको छैन। पछिल्लो २४ घण्टामा दुई जना हिन्दू व्यक्तिको हत्या भएको घटनाले देशमा साम्प्रदायिक तनाव थप चर्किएको छ।
सोमबार (जनवरी ५) राति करिब १० बजे नरसिंदी जिल्लाको पलाश उपजिलास्थित चोरसिंदूर बजारमा किराना पसल सञ्चालन गर्दै आएका ४० वर्षीय शरत चक्रवर्ती मणि (मोनी चक्रवर्ती)माथि अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको थियो। गम्भीर घाइते भएका मणिलाई अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीका अनुसार आक्रमण अचानक गरिएको थियो र आक्रमणकारीहरू घटनापछि फरार भएका छन्।

ढाकाको नजिकै भएको यस घटनाले थप चिन्ता पैदा गरेको छ। स्थानीय बासिन्दाका अनुसार आक्रमणकारीहरू कट्टरपन्थी समूहसँग सम्बन्धित थिए र मणिलाई हिन्दू भएकै कारण लक्षित गरिएको आशंका गरिएको छ।
यसै दिन केही घण्टाअघि, सोमबार साँझ करिब ६ बजे जेसोर जिल्लाको मणिरामपुर उपजिलास्थित कोपालिया बजारमा ४५ वर्षीय राणा प्रताप बैरागीको गोली हानी हत्या गरिएको थियो। उनी आइस फ्याक्ट्रीका सञ्चालक तथा नराइल जिल्लाबाट प्रकाशित दैनिक ‘बीडी खबर’ का कार्यकारी सम्पादकसमेत थिए। स्थानीयका अनुसार मोटरसाइकलमा आएका व्यक्तिहरूले उनलाई फ्याक्ट्रीबाट बाहिर बोलाई गल्लीमा लगेर विवादपछि टाउकोमा पटक–पटक गोली हानेर र घाँटी रेटी हत्या गरी फरार भएका थिए। प्रहरीले घटनास्थलबाट सात थान खोका बरामद गरेको र बैरागीको टाउकोमा तीन गोली लागेको पुष्टि गरेको छ।

यी दुई घटनासँगै पछिल्ला १८ दिनमा हिन्दू समुदायविरुद्ध भएका लक्षित हत्याको संख्या छ पुगेको छ। यस अवधिमा भएका प्रमुख घटनाहरूमा मयमनसिंहमा दीपू चन्द्र दासको भीडद्वारा कुटपिट र जलाएर हत्या, राजबारीमा अमृत मण्डलको भीडद्वारा हत्या, गार्मेन्ट कारखानामा काम गरिरहेका बजेन्द्र बिस्वासको गोली हानी हत्या, शरियतपुरमा खोकन चन्द्र दासमाथि चक्कु प्रहारपछि पेट्रोल छर्केर जलाउने प्रयास तथा उपचारका क्रममा मृत्यु लगायतका घटनाहरू समावेश छन्।
बंगलादेश हिन्दू–बौद्ध–इसाई ऐक्य परिषद्का प्रवक्ता काजोल देबनाथका अनुसार डिसेम्बर महिनामात्रै हिन्दू समुदायमाथि सात आक्रमण भएका छन् भने कम्तीमा पाँच जनाको हत्या भएको छ। उनले कट्टरपन्थी समूहहरूले अल्पसंख्यक समुदायलाई डरत्रासमा पार्ने प्रयास गरिरहेको चेतावनी दिएका छन्।
यी हिंसात्मक घटनाहरू डिसेम्बर २०२५ मा कट्टरपन्थी विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्या भएपछि सुरु भएको हिंसाको श्रृंखलासँग जोडिएका छन्। हादीको मृत्युपछि भएका भारतविरोधी प्रदर्शनहरू क्रमशः साम्प्रदायिक रूप लिँदै हिन्दू समुदायलाई लक्षित गर्न थालेको बताइन्छ।
अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुस नेतृत्वको प्रशासनमाथि अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लाग्दै आएको छ। केही घटनालाई सरकारले आपराधिक वा व्यक्तिगत विवादको रूपमा व्याख्या गरे पनि विभिन्न मानवअधिकार समूह र अल्पसंख्यक संगठनहरूले यी आक्रमणहरू धार्मिक कट्टरताबाट प्रेरित भएको दाबी गर्दै आएका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more