पुस २२, काठमाडौ । सरकार आगामी निर्वाचनलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा पुनः बढाउने तयारीमा जुटेको छ। गृह मन्त्रालयले तीनै शीर्ष नेतालाई पछुवा गाडीसहित थप सुरक्षाकर्मी उपलब्ध गराउने गृहकार्य अघि बढाएको जनाएको छ।
गृह मन्त्रालयका अनुसार यसअघि केही हदसम्म कटौती गरिएको सुरक्षा व्यवस्थालाई पुनः सुदृढ गर्न लागिएको हो। पछिल्लो समय बढ्दो सुरक्षा चुनौती र निर्वाचनसँग सम्बन्धित गतिविधि तीव्र हुँदै गएकाले विशेष सतर्कता अपनाउनुपर्ने निष्कर्षमा सरकार पुगेको स्रोतको भनाइ छ।
“चुनावी माहोलमा पूर्वप्रधानमन्त्रीहरू देशव्यापी रूपमा सक्रिय हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा पुनरावलोकन गरिएको हो,” गृह स्रोतले भन्यो, “उनीहरूको आवतजावत र सार्वजनिक कार्यक्रमलाई सुरक्षित बनाउन आवश्यक जनशक्ति र साधन थपिनेछन्।”
तीनै नेता प्रमुख राजनीतिक दलका शीर्ष व्यक्ति तथा आगामी चुनावी अभियानका मुख्य अनुहार भएकाले सुरक्षा निकायले उनीहरूको व्यक्तिगत सुरक्षा मात्र होइन, सार्वजनिक कार्यक्रमस्थलको सुरक्षा व्यवस्थालाई पनि कडाइ गर्ने तयारी गरेको छ।
यसअघि राज्यको खर्च कटौतीको नीतिअन्तर्गत पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षामा केही कटौती गरिएको थियो। तर चुनाव नजिकिँदै जाँदा पुनः सुरक्षा बढाउने सरकारी निर्णयलाई निर्वाचन सुरक्षा रणनीतिको अङ्गका रूपमा हेरिएको छ।
















