पुस १४, जनकपुरधाम। जनकपुरधाम, पुस १४ — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी गरिन लागेको निर्वाचन जेनजी विद्रोहप्रतिको स्पष्ट धोखा भएको बताएका छन्।
जनकपुरधाममा आज आयोजित वृहत् विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भ्रष्टाचार नियन्त्रण, शासकीय स्वरूपमा परिवर्तनलगायत माग उठाएर सुरु भएको जेनजी विद्रोहको मर्म सम्बोधन नगरी गरिने निर्वाचनले मुलुकको अवस्था र व्यवस्थामा कुनै ठोस परिवर्तन नल्याउने दाबी गरे।
संविधान जारी भएदेखि नै आफूहरू त्यसको विरोधमा रहेको उल्लेख गर्दै अध्यक्ष यादवले त्यसबेला नै आफ्ना मागहरू सम्बोधन गरिएको भए जेनजी विद्रोहको अवस्था नै नआउने दाबी गरे। उनले हालको संसदीय व्यवस्थाले मुलुकलाई उन्नतिको दिशामा लैजान नसक्ने भन्दै शासकीय व्यवस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताए।
अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद नै वर्तमान समस्याको विकल्प भएको उल्लेख गर्दै यसबाहेक अन्य कुनै प्रभावकारी उपाय नरहेको जिकिर गरे।
सरकारले जेनजी विद्रोहका माग सम्बोधन नगरी निर्वाचन गर्न लागे पनि आफूहरू निर्वाचनबाट भाग नलिने स्पष्ट पार्दै उनले मधेश विद्रोहदेखि उठाइँदै आएका मुद्दा तथा जेनजी विद्रोहले उठाएका मागहरू सदनमा सशक्त रूपमा उठाउन निर्वाचनमा सहभागी हुने बताए।
विगत ३० वर्षदेखि शासन गर्दै आएका कांग्रेस र कम्युनिष्ट दलहरूले देशलाई अधोगतिमा पुर्याएको आरोप लगाउँदै अध्यक्ष यादवले ती दलहरूबाट मुलुकको विकास सम्भव नरहेको टिप्पणी गरे।
मुलुकले खोजिरहेको परिवर्तन साकार पार्न मधेश विद्रोहको नेतृत्व गरेका शक्तिहरू पुनः एकजुट हुन थालेको उल्लेख गर्दै उनले हिजो मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता भएको र विगतमा जसपा नेपाल छोडेर गएका नेताहरू पनि पुनः एकतामा आउन लागेको जानकारी दिए।
मधेश प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त विरोधसभामा पार्टीका अध्यक्ष रकम जेम्जोङ, लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश उपाध्यक्ष रामज्ञान मण्डलले सम्बोधन गरेका थिए।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य तथा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख लालकिशोर साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य जितेन्द्र यादवले गरेका थिए।
















