रवि–बालेन–कुलमानबीच सहमति, तीनै नेता रास्वपाबाट चुनाव लड्ने

पुस १४, काठमाडौ । शिवराम झा — राष्ट्रिय राजनीतिमा नयाँ समीकरण स्थापित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्व ऊर्जामन्त्री कुलमान घिसिङबीच सहमति भएको छ। सहमतिअनुसार तीनै नेता आगामी निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन्।
कमलपोखरीस्थित असिम शाहको कार्यालयमा भएको त्रिपक्षीय छलफलले उक्त सहमतिलाई औपचारिकता दिएको हो। यसअघि जेन–जी अभियन्ता सुधन गुरुङको पहलमा बौद्धस्थित अन्तरा होटलबाट कुलमान घिसिङलाई वार्तामा ल्याइएपछि तीन नेताबीच निर्णायक छलफल भएको बताइएको छ। सहमति प्रक्रियामा सुधन गुरुङले ऐतिहासिक भूमिका खेलेको नेताहरूको बुझाइ छ।
सहमति अनुसार कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएका छन्। साथै, उनको समूहबाट १८ जनालाई समानुपातिक सूचीमा समावेश गरिने सहमति भएको छ। हाल सहमतिपत्रको ड्राफ्टमा हस्ताक्षरको प्रक्रिया चलिरहेको स्रोतले जनाएको छ।
सभापति तथा भावी प्रधानमन्त्रीको दावेदारी गरिरहेका कुलमान घिसिङले देशको समग्र भावना र राजनीतिक स्थायित्वलाई ध्यानमा राख्दै त्याग देखाएको नेताहरूले बताएका छन्। यस निर्णयपछि कुलमानको राजनीतिक परिपक्वता र योगदानको व्यापक प्रशंसा सुरु भएको छ।
सहमतिको वरीयता अनुसार सभापति रवि लामिछाने पहिलो स्थानमा रहनेछन् भने उपसभापतिसहित कुलमान घिसिङ दोस्रो वरीयतामा रहने भएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तेस्रो वरीयतामा सहमत भएका छन्। जनचाहना र राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिँदै बालेन तेस्रो वरीयतामा बस्न तयार भएको बताइएको छ।
सहमति अनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ र चुनाव चिह्न ‘घण्टी’ यथावत् रहनेछ। तीन नेताबीच एकता भएपछि निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने प्रक्रियातर्फ अघि बढ्ने तयारी भइरहेको छ।
सोमबार साँझ कमलपोखरीमा भएको वार्तामा रवि लामिछाने, कुलमान घिसिङ र बालेन्द्र शाह सहभागी थिए भने जेन–जी अभियन्ता सुधन गुरुङले वार्ताको समन्वय गरेका थिए।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more