राजीनामाबाट सुरु भयो मधेशको राजनीतिक खेल: एमालेको कसरत चुक्न, गठबन्धन सोनलकै पक्षमा

मंसिर १८, जनकपुरधाम। मधेश प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामासँगै नयाँ सरकार गठनकाे दौडधूप तीव्र बन्दै गएको छ। यादवले विश्वासको मत नपाउने सम्भावना देखिएपछि पदत्याग गरेसँगै सत्ता रिक्त भएको परिस्थितिमा विभिन्न दलहरूबीच नयाँ समीकरण निर्माण गर्ने प्रतिस्पर्धा चर्किएको हो। सातदलीय गठबन्धनभित्र पुरानै सहमति कार्यान्वयन गर्दै लोसपाका नेता जितेन्द्र प्रसाद सोनललाई पुनः मुख्यमन्त्री बनाउने तयारी तीव्र देखिन्छ। गठबन्धनमा सामेल जसपा नेपाल, माओवादी केन्द्र, लोसपा,काङ्ग्रेस , जनमत पार्टी र एकीकृत समाजवादीलगायत दलका नेता तथा सांसदहरू सोनलकै नेतृत्वमा सत्ता अघि बढाउनुपर्ने धारमा सार्वजनिक रूपमा उभिएका छन्।

यता नेपाली कांग्रेसभित्र पनि केही नेताहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गरेको स्रोतले बताउँछ। तर पार्टीभित्रको गुट–उपगुटले एकअर्कालाई स्वीकार्न नसक्ने वातावरण बनेपछि कांग्रेसभित्र सहमति कायम गर्ने सम्भावना अत्यन्त न्यून देखिन्छ। यही आन्तरिक विभाजनका कारण गठबन्धनका अन्य दलहरूले कांग्रेसलाई नेतृत्वसम्भावना भएको शक्ति ठानिरहेका छैनन्। अर्कोतर्फ, नेकपा एमालेले गठबन्धन भत्काउन सक्दो प्रयास गरिरहे पनि संख्यागत हिसाब र दलगत मनोविज्ञानले उनकै पक्षमा अवस्था नबनेको देखिन्छ। कांग्रेस स्वयं आन्तरिक रूपमा विभाजित रहेकाले एमालेले प्रस्तावित वैकल्पिक समीकरणलाई बल पुग्न सकेको छैन।

यसैबीच, सातदलीय गठबन्धनसँग सरकार गठन गर्न आवश्यक ५४ भन्दा बढी अर्थात् करिब ५६–५७ सांसदको समर्थन जुट्ने अवस्था बनेकाले गठबन्धनभित्र सोनलकै नेतृत्वमा सहज रूपमा सरकार बन्ने सम्भावना उच्च देखिएको छ। राजनीतिभित्रको चलखेल र शक्ति–हिसाबले मधेश प्रदेश फेरि एकपटक अस्थिरताको चक्रमा फसेको टिप्पणी विश्लेषकहरूको छ। बारम्बार सरकार परिवर्तन र दलगत सौदाबाजीले प्रशासनिक स्थिरता कमजोर हुने, योजनाहरू प्रभावित हुने र जनविश्वास ह्रास हुने जोखिम बढेको जनताले महसुस गरिरहेका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more