मंसिर १६,सिरहा — अबैध रूपमा व्यक्तिहरू नेपाल प्रवेश गर्न सक्ने उच्च आशंकाबीच सिरहा प्रशासनले सीमावर्ती नाकाहरूमा कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मंगलबार सूचना जारी गर्दै सीमामा कडा निगरानी र चेकजाँच सुरु गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार सीमावर्ती क्षेत्रमा परिचय नखुलेका शंकास्पद व्यक्तिहरू अबैध तरिकाले जिल्लामा प्रवेश गर्ने सम्भावना बढेको हुँदा सुरक्षालाई मजबुत बनाइएको हो। उनले शंकास्पद व्यक्तिलाई कतै देखिए तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न स्थानीयलाई आग्रह गरे।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले जनतामा सचेतना बढाउँदै भने,
“परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास दिनुहुन्न। कुनै कामकाजमा समेत नलगाउनुहोस्। सुरक्षा संवेदनशील भएकोले सबैले सहयोग गर्नुपर्छ।”
भारत सरकारले विहार र बंगाल क्षेत्रका अबैध बसोबासीहरू विरुद्ध छानविन अभियान सुरु गरेपछि उनीहरूले खुला सीमाको प्रयोग गरी नेपाल प्रवेश गर्ने जोखिम बढेको बताइएको छ।
केही दिनअघि काकडभिट्टा नाका हुँदै शंकास्पद व्यक्तिहरू नेपाल प्रवेश गरेको हल्ला फैलिएको थियो। सो घटनापछि सिरहा प्रशासन, प्रहरी र सशस्त्र सुरक्षा निकायले सीमा नाकाहरूमा थप सतर्कता अपनाउँदै कडाइ बढाएका छन्।सिरहा प्रशासनका अनुसार सुरक्षालाई प्राथमिकता दिँदै सीमा क्षेत्रमा पहरा, गस्ती तथा परिचय प्रमाणीकरण प्रक्रिया अझ कडा बनाइनेछ।
















