मंसिर १६, जनकपुरधाम। मधेश प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाका अनुसार प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बुधवार बिहान ८:३० बजे प्रदेश सभाको बैठक बस्ने भएको छ।
सचिवालयद्वारा मिति २०८२।०८।१६ मा जारी गरिएको सूचनामा उल्लेख गरिएअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने संवैधानिक प्रक्रिया पूरा गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो।
सचिवालयले सम्पूर्ण प्रदेश सभा सदस्य, सरोकारवाला निकाय तथा सम्बद्ध पक्षहरूलाई निर्धारित समयमा उपस्थित हुन अनुरोध गर्दै सूचना सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतको आदेशपछि मुख्यमन्त्री यादवले अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने स्थिति पैदा भएको थियो। बुधवारको बैठकबाट प्रदेशको राजनीतिक परिस्थिति कता मोडिने हो भन्ने प्रतीक्षा राजनीतिक दलहरू र जनस्तर दुबैमा चासोको विषय बनेको छ।
















