नेकपा एमालेद्वारा देशैभर ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट, मतदान बिहान ८ देखि

मंसिर १३, काठमाडौ । नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनका लागि आज देशैभर महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अघि बढाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै संघीय निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटका लागि उम्मेदवारी मनोनयन गरिएको थियो।

केही निर्वाचन क्षेत्रमा भने मनोनयन भएको दिनमै सहमतिको आधारमा प्रतिनिधि छनोट टुङ्गिएको छ। बाँकी निर्वाचन क्षेत्रहरूमा भने आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। अधिकांश क्षेत्रमा मतदान समय दिउँसो २ बजेसम्म तोकिएको छ, तर स्थानीय परिस्थितिअनुसार केही जिल्लाहरूले अनुकूलता हेरी मतदानको समय फरक–फरक तय गरेका छन्।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर खुला, महिला, दलित तथा युवासहित करिब २ हजार महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्।

प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट :

प्रति १२०० पार्टी सदस्य बराबर खुला २ तथा महिला १ जना निर्वाचित गर्नुपर्ने,

प्रतिनिधिमध्ये एक जना अनिवार्य रूपमा ४० वर्षभन्दा कम उमेरका युवा हुनुपर्ने,
जस्ता प्रावधान लागू गरिएको छ।

प्रतिनिधि छनोटको यो प्रक्रिया पार्टीभित्र समावेशीता र पुस्तान्तरणलाई बलियो बनाउने रणनीतिका रूपमा हेरिएको छ। देशभरका १६५ संघीय निर्वाचन क्षेत्रबाट हुने यस निर्वाचनले एमालेको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै महाधिवेशनको संरचना तयार गर्नेछ।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more