दाङमा बाटो विवाद उग्र : पूर्व सांसद गंगा थारु स्थानीय महिलाबाट कुटिइन्, मंगलसूत्र लुटिएको दाबी

दाङ, १३ मंसिर । राप्ती गाउँपालिका–७, छोट्की सिसहनियाँमा बाटोसम्बन्धी विवाद हिंसात्मक रूप लिँदा नेपालकी पूर्व सांसद गंगा थारु स्थानीय महिलाबाट कुटपिटको शिकार भएकी छन्। घटना शुक्रबार बेलुका विवाद समाधानका लागि गरिएको छलफलकै क्रममा भएको हो।

पीडित पक्षका अनुसार, छलफलका दौरान गंगा थारु एक स्थानीय महिलासँग भनाभनमा उत्रिएपछि त्यही टोलका अन्य महिलाहरूले एकजुट भएर उनीमाथि लछारपछार गर्दै हातपात गरेका थिए। थारुले आरोप लगाउँदै भनेकी छन् कि जानकी चौधरी, गायत्री चौधरी, चन्द्रमती चौधरी, सरस्वती चौधरी, अञ्जु चौधरी, छेदु चौधरी र राजकुमार चौधरीले उनलाई समातेर कुटेका हुन्।

घटनामा थारुको घुँडामा चोट लागेको र तत्काल उपचार आवश्यक परेपछि प्रहरीलाई जानकारी गराइएको थियो। उनले कुटपिटकै क्रममा आफूले लगाएको मंगलसूत्र लुटिएको दाबी समेत गरेकी छन्। थारुले घटनामा संलग्नहरूमाथि कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने चेतावनी पनि दिएकी छन्।

आक्रमणलाई राजनीतिक प्रतिशोधसँग जोड्दै थारुले सार्वजनिक रूपमा भनिन्:
“माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले सबैलाई चिनेकै छु। बाटोको समस्या समाधान गर्न गएकी थिएँ, तर उल्टै ममाथि हातपात भयो।”

यता, आरोपित महिलाहरूले भने थारुको दाबी अस्वीकार गर्दै पहिलो हात उठाउने गंगा थारु नै रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइ छ:
“गंगाले पहिले गायत्री चौधरीलाई थप्पड हानेपछि हामीले प्रतिकार गरेका हौँ। यो जग्गाको सिमाना र बाटोकै पुरानै विवादको प्रतिक्रिया हो।”

इलाका प्रहरी कार्यालय सिसहनियाँले दुवै पक्षलाई भोलि छलफलका लागि बोलाइसकेको जानकारी दिएको छ। प्रहरीका अनुसार घटनाबारे प्रारम्भिक बयान संकलन भइसकेको र विवाद समाधान र थप अनुसन्धान प्रक्रिया अघि बढाइने छ।

पूर्व सांसद थारुको राजनीतिक यात्राको पृष्ठभूमि पनि समाचारमा चर्चाको विषय बनेको छ। थारु विगतमा थरुहट पार्टी, नेकपा एमाले लगायतका राजनीतिक धारहरूसँग आबद्ध रहँदै धरातल परिवर्तन गर्दै आएकी थिइन् भने हाल उनी राजावादी आन्दोलनमा सक्रिय भूमिकामा देखिँदै आएकी छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more