हिन्दू अल्पसंख्यक बस्तीमाथि वैवाहिक पूजाका क्रममा आक्रमण, समुदायमा त्रास

मंसिर १३, रौतहट । रौतहट क्षेत्र नं. २ अन्तर्गत ईशनाथ नगरपालिका–५, जॊकहा मोतिपुर टोलस्थित हिन्दू अल्पसंख्यक बस्तीका एक परिवारमाथि बिहे प्रयोजनको पूजाअर्चनाका क्रममा आक्रमण भएको छ।

पीडित परिवारका अनुसार, गंगाराम तुरहाकी नातिनी तथा नवलकिशोरकी छोरी निभा कुमारीको विवाहपूर्व गरिने परम्परागत पूजाका लागि ब्रहमस्थानस्थित ब्रहम बाबा मन्दिरमा जान लागेको बेला केही व्यक्तिहरूले परिवारमाथि कुटपिट गरेका थिए। महिलामाथि घरभित्रै प्रवेश गरी अभद्र व्यवहार र दुर्व्यवहार समेत गरिएको दाबी पीडित पक्षले गरेको छ।

हिन्दू धर्म तथा मिथिला परम्परा अनुसार, विवाहलगायतका शुभकार्य सुरु गर्नुअघि गाउँमा रहेको ब्रहम बाबा मन्दिरमा पूजा गर्ने प्रचलन रहँदै आएको छ। धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको यो पूजाका क्रममा समुदायमाथि भएको आक्रमणपछि स्थानीय हिन्दू बस्तीमा त्रास, तनाव र असुरक्षाको वातावरण सिर्जना भएको छ।

स्थानीयवासीहरूले जनसंख्याको दृष्टिले सानो बनेको समुदायमाथि बारम्बार यस्ता घटनाहरू हुँदै आएको भन्दै राज्य पक्षबाट प्रभावकारी सुरक्षाको प्रत्याभूति नभएको आरोप लगाएका छन्। संविधानले सबै धर्म र समुदायलाई समान अधिकार दिए पनि व्यवहारमा अल्पसंख्यक समुदाय असुरक्षित बन्दै गएको उनीहरूको गुनासो छ।

घटनापछि क्षेत्रका संघीय सांसद किरण कुमार साहले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानूनी कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरेका छन्। उनले सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रतामाथि हुने जुनसुकै आक्रमणको कडाभन्दा कडा प्रतिकार गर्न आफू तयार रहेको चेतावनी समेत दिएका छन्।
“सामाजिक सद्भावमा खलल पुर्‍याउने जो कोहीलाई कठोर सजाय हुनुपर्छ,” सांसद साहले भने।

आक्रमणमा घाइते भएकाहरूको हाल प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। प्रहरीले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे निगरानी राखिरहेको र पीडित पक्षसँग बयान संकलन गरिसकिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनामा संलग्न दोषीहरूको खोजी तथा घटना सम्बन्धी विस्तृत अनुसन्धान जारी छ। प्रहरीले दोषी पहिचान भइसकेको र पक्राउ प्रक्रियाको तयारी भइरहेको संकेत समेत दिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more