आइजिपीबाट हट्ने बितिक्कै खापुङमाथि आयोगको प्रतिबन्ध

कार्तिक २७, जनकपुरधाम। सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ माथि सेवा समाप्त भएको केही घण्टामै जाँचबुझ आयोगको प्रतिबन्ध लागेको छ।

भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा भएको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिनका लागि बनेको जाँचबुझ आयोगले खापुङलाई अनुसन्धानका लागि विदेश यात्रा रोक्का गरेको छ। साथै आयोगले खापुङलाई काठमाडौं उपत्यका छोड्नुअघि अनिवार्य रूपमा आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ।

आयोगका अनुसार, ती घटनामा खापुङको भूमिकाबारे थप अनुसन्धान गर्न आवश्यक देखिएकाले उनलाई जब-जब आयोगले बोलाउँछ, उपस्थित हुनुपर्ने बाध्यता रहनेछ। यस सम्बन्धी औपचारिक जानकारी आयोगले खापुङलाई आजै पठाएको पुष्टि गरिएको छ।

आयोग स्रोतका अनुसार, तत्कालीन प्रहरी नेतृत्वले आन्दोलन नियन्त्रणका क्रममा अपनाएको बल प्रयोग, आदेशको प्रकृति, र त्यसले निम्त्याएको क्षतिबारे गम्भीर प्रश्न उठेकाले अनुसन्धान अघि बढाइएको हो।

खापुङले आज बिहानमात्रै प्रहरी महानिरीक्षकको पदबाट अवकाश लिएका थिए। तर, उनको अवकाशपत्रमा मसी सुकेको पनि केही घण्टा नबित्दै उनीमाथि आयोगको यस्तो आदेश आउनुले प्रहरी संगठनभित्र र बाहिर दुबै ठाउँमा नयाँ चर्चा र विवाद सिर्जना गरेको छ।

यता, प्रहरी स्रोतका अनुसार, खापुङले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर उनका निकटका व्यक्तिहरूले यो कदमलाई “पूर्वनियोजित र लक्षित कार्यवाही” भएको आरोप लगाएका छन्।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more