पूर्वऊर्जा मन्त्री दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा युवामन्त्री बब्लु गुप्ताद्वारा खाली

कार्तिक २७, काठमाडौ । युवास्वरोजगार तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पूर्वऊर्जा मन्त्री दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा खाली गराएका छन्। लामो समयदेखि निजी स्वार्थमा प्रयोग हुँदै आएको उक्त जग्गा मन्त्रालयको पहलमा अन्ततः फिर्ता लिइएको हो।

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले सो जग्गामा ताला लगाएर कार्य रोक्का गराएका थिए। तर त्यसपछि विषय लामो समय अलपत्र परेको थियो। अहिले मन्त्री गुप्ताले उक्त कामलाई निरन्तरता दिँदै कब्जा गरिएको स्काउटको जग्गा खाली गराएपछि संस्थाको सम्पत्ति फिर्ता हुन थालेको छ।

नेपाल स्काउटको स्वामित्वमा रहेको उक्त जग्गा पूर्वमन्त्री खड्काले लिजमा लिएर निजी प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए। तर उनले लिजबापतको करीब साढे ३ करोड रुपैयाँ रकम अझै तिरेका छैनन्, स्काउट स्रोतले जनाएको छ।

मन्त्री गुप्ताले जग्गा फिर्ता गराउने क्रममा स्पष्ट रूपमा भने, “देशको सम्पत्ति कसैले पनि खान पाउँदैन, जति शक्तिशाली भए पनि नियम सबका लागि बराबर हुन्छ।” उनले थपे, “औंला टेढो बनाएर भएपनि भाडा असुल हुनेछ, कुनै ‘इफ’ र ‘बट’ मानिंदैन।”

यो कदमले लामो समयदेखि रोकिएको नेपाल स्काउटको विवाद समाधानतर्फ कदम अघि बढाएको छ। मन्त्री गुप्ताले यसलाई “संस्थाको इज्जत फिर्ता गर्ने पहिलो चरण” भनेका छन्।

राजनीतिक वृत्तमा मन्त्री गुप्ताको यो निर्णयलाई सकारात्मक कदमका रूपमा लिइएको छ। नागरिक समाज र युवा समूहले पनि उनले अघि बढाएको यो कारबाहीको प्रशंसा गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more