कार्तिक १९, काठमाडौ ।— देशका प्रमुख वामपन्थी शक्तिहरूबीच लामो समयदेखि चल्दै आएको एकता प्रयासले ठोस रूप लिएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न वामपन्थी दलहरूले औपचारिक रूपमा पार्टी एकता घोषणा गरेका छन्।
कात्तिक १९ गते बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा एकता घोषणा गरिएको हो। उक्त समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत दलहरू सहभागी थिए।
एकता घोषणासँगै सात वामपन्थी दलबीच नौ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको छ। सहमति अनुसार, नयाँ पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” रहनेछ। पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाललाई चयन गरिएको छ।
घोषणा कार्यक्रममा दलका शीर्ष नेताहरूले नयाँ पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरेका थिए। साथै, पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम “नेपाली विशेषताको वैज्ञानिक समाजवाद” रहने उल्लेख गरिएको छ।
सहमति अनुसार, एकीकृत पार्टीले आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्नेछ। सो महाधिवेशनबाट स्थायी संरचना र नीति निर्धारण गरिने बताइएको छ।
त्यस्तै, एकता प्रक्रियामा सहभागी भएका दलहरूको साविक केन्द्रीय समिति आपसी सहमति र समायोजनको आधारमा नयाँ केन्द्रीय समिति गठन गरिने सहमति पनि भएको छ।
नेताहरूले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा भनेका छन्, “वामपन्थी विचार, नीति र जनताको हितका लागि अब विभाजन होइन, एकताको बाटो आवश्यक छ। नेपाली कम्युनिस्ट पार्टी देशको स्थायित्व, समृद्धि र समाजवादी रुपान्तरणको नेतृत्व गर्न तयार छ।”


















