जेनजी’ प्रदर्शनपछि सामान्य बन्दै स्थिति, ६२ मध्ये ४१ स्थानबाट फौज फिर्ता

कार्तिक १, काठमाडौ । ‘जेनजी’ प्रदर्शनपछि देशभरका कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटाइएको नेपाली सेनाको फौज क्रमशः फिर्ता हुँदै गएको छ। स्थिति सामान्य बन्दै गएपछि ६२ स्थानमध्ये ४१ स्थानबाट सेना फिर्ता गरिएको नेपाली सेनाले जनाएको छ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन सेनाको फौज उपत्यकाभित्र ५ र बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा संवेदनशील संरचनाको सुरक्षामा परिचालन गरिएको थियो। सेनाका अनुसार हाल सुरक्षा अवस्था सुधारिँदै गएपछि अझै २१ स्थानमा मात्रै फौज तैनाथ गरिएको छ।

सेनाका उपरथी तथा युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाका अनुसार प्रदर्शनका क्रममा देखिएको आगजनी, तोडफोड र दङ्गाजस्ता चुनौतीपूर्ण अवस्थालाई सेनाले छदेखि आठ घण्टाको अवधिमा नियन्त्रणमा लिन सफल भएको हो।
उनले भने, “अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा पनि शून्य मानवीय क्षतिका साथ शतप्रतिशत उद्धार कार्य सम्पन्न गर्न सफल भयौं, जसका कारण अत्यावश्यक सेवा तथा वस्तुको आपूर्ति तुरुन्त सामान्य हुन सक्यो।”

थापाका अनुसार सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको सक्रियताबाट त्यहाँका रणनीतिक महत्त्वका कागजातहरू जोगाउन सफलता मिलेको थियो। उनले बताए अनुसार राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डाटा सेन्टर’लाई आगजनीबाट सुरक्षित राख्न सेनाले विशेष भूमिका खेलेको थियो।

मुलुकको समग्र सुरक्षा अवस्थाको जिम्मेवारी सम्हालेपछि सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’मार्फत चोरी, लुटपाट र आगजनीसम्बन्धी गुनासाहरूको तत्काल सम्बोधन गरी सुरक्षाको प्रत्याभूति प्रदान गरिएको पनि उनले जानकारी दिए।

सेनाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आक्रमण गर्ने उद्देश्यले भेला भएका करिब दुई हजार प्रदर्शनकारीलाई रोक्दै भदौ २५ गतेदेखि नै विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सम्भव भएको थियो।
थापाले भने, “विमानस्थलमा फसेका विदेशी पर्यटकहरूको पनि सुरक्षाको व्यवस्था मिलाइएको थियो। साथै, उपत्यकाभित्र रहेका विभिन्न कूटनीतिक नियोग तथा विदेशी नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएको थियो।”

सेनाले जनाएको छ— प्रदर्शनको पहिलो चरणमा सिंहदरबार परिसरमा प्रवेश गरेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न सफल भए पनि भीड ठूलो हुँदै गएपछि घातक हतियार प्रयोग नगरी सावधानीपूर्वक संयम अपनाइएको थियो। सेनाले मानवीय क्षति नहोस् भन्ने उद्देश्यका साथ विशेष सतर्कता अपनाई स्थिति नियन्त्रणमा ल्याएको स्पष्ट पारेको छ।

नेपाल सरकारका सुरक्षा संयन्त्रहरूमध्ये सेनाको भूमिकालाई निर्णायक मानिएको यो घटनामा सेनाको संयमता र त्वरित उद्धारले ठूलो क्षति हुनबाट देशलाई जोगाएको बताइन्छ।

 

  • सम्बन्धित समाचारहरु

    गर्भवती मृत्यु प्रकरण : डाक्टर डीबी खत्री र सतिश रुपाखेती प्रहरी नियन्त्रणमा

    Read more

    निर्देशन अवज्ञा गर्दा जनकपुरधामको लिटिल चेम्प स्कुललाई जरिवाना

    Read more