जनकपुर कुटपिट प्रकरणमा मुख्यमन्त्री सोनलको चासो, दोषीमाथि कडा कारबाहीको निर्देशन

कार्तिक १, जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको प्रहरी कुटपिट घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार प्रहरी र व्यवसायीबीचको झडपका क्रममा अध्यक्ष भण्डारी घाइते भएका थिए। प्रहरीको लाठीचार्जबाट उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनी हाल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत छन्।

शनिबार बिहान मुख्यमन्त्री सोनल स्वयं अस्पताल पुगेर घाइते अध्यक्ष भण्डारीलाई भेटे र स्वास्थ्य अवस्थाबारे जानकारी लिए। सो क्रममा उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरीमाथि कानूनी कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन्।

मुख्यमन्त्री सोनलले व्यवसायीहरू देशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै भने, “उद्योगी–व्यवसायीमाथि हिंसा हुनु दुर्भाग्यपूर्ण घटना हो। कसैले पनि कानूनी सीमाभन्दा बाहिर गएर बल प्रयोग गर्न पाउँदैन।”

उनले प्रदेश सरकार जनताको सुरक्षाप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै घटनाको निष्पक्ष अनुसन्धानपछि दोषी जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट सन्देश दिएका छन्।

यसैबीच, जनकपुर उद्योग वाणिज्य संघले पनि घटनाको विरोध गर्दै दोषी प्रहरीलाई निलम्बन गरी कारबाहीको माग गरेको छ। संघका पदाधिकारीहरूले घटनाले प्रहरी–व्यवसायी सम्बन्धमा असहजता ल्याएको भन्दै सरकारलाई जिम्मेवार कदम चाल्न आग्रह गरेका छन्।

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more