जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप : उद्योग वाणिज्य संघ अध्यक्ष सुरेन्द्र भण्डारी घाइते

जनकपुरधाम, असोज ३१ । जनकपुरधाममा  प्रहरी र व्यवसायीबीच झडप हुँदा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।

घटनास्थलका प्रत्यक्षदर्शीहरूका अनुसार जनकपुरधाम–५ सोनापट्टीस्थित बजार क्षेत्रमा सुन–चाँदी तस्करीको मुद्दामा प्रहरी टोली पुग्दा स्थानीय व्यवसायीहरूले प्रतिकार गरेका थिए। सो क्रममा अवस्था नियन्त्रणबाहिर जाँदा प्रहरीले लाठीचार्ज गरेको थियो।

लाठीचार्जबाट अध्यक्ष भण्डारीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ। उहाँलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएको छ। अस्पतालका चिकित्सकका अनुसार भण्डारीको अवस्था अहिले सामान्य रहेको भए पनि थप निगरानीमा राखिएको छ।

प्रहरीका अनुसार सुन–चाँदी तस्करीमा संलग्न रहेको भन्ने सूचनाका आधारमा छापा मार्न गएको टोलीमाथि केही व्यवसायीहरूले विरोध गर्दै बाटो अवरोध गरेपछि स्थिति नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको थियो।

झडपका क्रममा केही अन्य व्यवसायी र प्रहरी पनि सामान्य रूपमा घाइते भएको जनाइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन आसु ग्यास को प्रहार गरेको छ।

घटनापछि जनक चोक, जानकी चोक लगायतका क्षेत्र तनावग्रस्त बनेका छन्। प्रहरीको ठूलो टोली अहिले पनि बजार क्षेत्रमा परिचालन गरिएको छ र आवागमन आंशिक रूपमा प्रभावित भएको छ।

हाल जनकपुरधामको प्रमुख बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् र स्थिति क्रमशः सामान्य बन्ने प्रयास भइरहेको छ।

 

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more