असोज १४, काठमाडौ । Gen-Z आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गरेका छन् । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढुंगानाले यो एजेन्डा नछोड्ने र निरन्तर दबाब दिने स्पष्ट अडान प्रकट गरेका हुन् ।
ढुंगानाले भने, “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जनताकै माग हो। यो माग पूरा नभएसम्म हाम्रो आन्दोलन र दबाब अभियान निरन्तर रहन्छ।”
उनले हालको राजनीतिक संरचनाले जनताको सीधा सहभागिता सुनिश्चित नगरेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित प्रणालीले मात्र जिम्मेवारी र जवाफदेहिताको संस्कृतिलाई सबल बनाउने दाबी गरे ।
Gen-Z आन्दोलनका युवाहरू पछिल्लो समय संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने मागमा केन्द्रित भइरहेका छन् । यसै सन्दर्भमा ढुंगानाको प्रधानमन्त्रीसँगको भेटलाई राजनीतिक वृत्तमा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।















