अफगानिस्तानमा तालिबानद्वारा सम्पूर्ण सञ्चार सेवा बन्द, उडानसमेत प्रभावित

असोज १४, काबुल – आफगानिस्तान। अफगानिस्तानमा तालिबान सरकारले सम्पूर्ण सञ्चार सेवा बन्द गरेको पुष्टि भएको छ । इन्टरनेट निगरानी संस्था नेटब्लक्स का अनुसार अहिले देशभर पूर्ण रूपमा ‘कनेक्टिभिटी ब्ल्याकआउट’ भएको छ ।

तालिबानले ‘अनैतिकता नियन्त्रण’ गर्ने भन्दै केही साताअघि नै फाइबर–अप्टिक इन्टरनेट तारहरू काट्न सुरु गरेको थियो । यसका कारण राजधानी काबुलमा समेत अन्तर्राष्ट्रिय सञ्चार एजेन्सीहरूको कार्यालयहरूसँग सम्पर्क टुटेको छ । अहिले देशभर फोन, मोबाइल, इन्टरनेट तथा स्याटेलाइट टेलिभिजनसमेत पूर्ण रूपमा बन्द छन् ।

सन् २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नै इस्लामी सरिया कानूनको व्याख्या गर्दै निरन्तर विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । सञ्चार सेवाबारे नयाँ सूचना जारी नभएसम्म सम्पूर्ण प्रणाली बन्द रहने जानकारी दिइएको छ ।

सञ्चार अवरुद्ध भएपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलका गतिविधि पनि अवरुद्ध भएका छन् । बीबीसीका अनुसार मंगलबार मात्र निर्धारित कम्तीमा आठ उडान रद्द भएका छन् । अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएपछि यात्रुहरूलाई गम्भीर कठिनाइ भएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले तालिबानको यो कदमलाई जनतामाथि गरिएको गम्भीर दमनको रूपमा लिएका छन् । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, सञ्चार पहुँच र नागरिक अधिकारमाथि परेको धक्का तत्काल हटाउन आग्रह गरेका छन् ।

 

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more