असोज ११, जनकपुर। मधेस प्रदेशमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने चार दलबीच सहमति भएको छ।
कांग्रेस, एमाले, जनमत र लोसपाबीच भएको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता कृष्णा यादव मुख्यमन्त्री बन्ने तय भएको जनमत पार्टीका नेता महेश यादवले जानकारी दिएका छन्।
जनमत पार्टीले सिंहलाई पार्टीबाट फिर्ता बोलाएसँगै कांग्रेसले पनि समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। अब प्रदेश प्रमुखसँग बहुमत सांसदहरूको हस्ताक्षरसहित पत्र पेश गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने तयारी छ।
मन्त्रालय बाँडफाँटसम्बन्धी विषयमा भने छलफल जारी रहेको जनाइएको छ। मधेस प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको बहुमत आवश्यक पर्नेछ भने नयाँ गठबन्धनसँग पर्याप्त संख्या रहेको छ।
















