असोज ११, काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वर्षौँदेखि अलपत्र रहेका ठूला ठेक्कामाथि कडा कदम चालेका छन्। सडक र पुल निर्माणका नाममा काम नगरी वर्षौं ढिलाइ गर्ने २३४ वटा ठेक्का सरकारले तोड्ने निर्णय भएको छ।
मन्त्री घिसिङले सोमबार मन्त्रालयमा आयोजित बैठकमा भने, “सडक निर्माणका लागि राज्यले हरेक वर्ष अबौं रुपैयाँ खर्च गरिरहेको छ तर नागरिकले यसको लाभ लिन सकेका छैनन्। ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अब सह्य हुँदैन।”
उनले अलपत्र ठेक्कामा संलग्न कर्मचारी र ठेकेदार दुवैलाई कारबाही हुने चेतावनी दिँदै, “जोसुकै ठेकेदार भए पनि कसैको दबाब वा प्रलोभनमा नपरी ठेक्का तोड्नुस्, म तपाईंलाई पूर्ण संरक्षण दिन्छु,” भन्दै प्राविधिक अधिकारीलाई निर्देशन दिएका छन्।
कुन क्षेत्रमा कति ठेक्का अलपत्र?
दमक : ३८ वटा
काठमाडौं : ७५ वटा
पोखरा : ३९ वटा
सुर्खेत : ४९ वटा
हुलाकी राजमार्ग : १६ वटा
मध्यपहाडी लोकमार्ग : १७ वटा
👉 जम्मा : २३४ ठेक्का तोडिने पक्का
कसलाई कारबाही हुन्छ?
समयमै काम नगर्ने निर्माण व्यवसायी तथा ठेकेदार
ठेक्का तोड्ने वा ढिलाइ गर्ने तत्कालीन र हालका जिम्मेवार कर्मचारी
यसका लागि मन्त्रालयले विशेष छानबिन समिति गठन गर्ने तयारी गरेको छ।
‘काम नगरेको’ ठेक्का कुनलाई मानिन्छ?
सम्झौतामा तोकिएको समयभन्दा धेरै म्याद थपेर पनि ५०% भन्दा कम प्रगति भएको।
दुई/तीन गुणा म्याद थपेर पनि ८०% भन्दा कम काम सम्पन्न भएको।
चार गुणा समय थप्दा पनि काम अझै सकिन बाँकी रहेको।
सम्झौता रकम २ करोडभन्दा बढी हुने ठेक्का।
मन्त्री घिसिङले लामो समयदेखि देखिएको कम रकम कबोल गरी ठेक्का लिने, परिचालन पेश्की लिएर अन्यत्र लगानी गर्ने तर काम नगर्ने प्रवृत्ति अब समाप्त हुने दाबी गरेका छन्।
















