असोज १२, जनकपुरधाम । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभर श्रद्धापूर्वक देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ।
अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा मानिने कात्यायनी देवीलाई विशेषगरी शक्ति, साहस र प्रगतिका प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा विधिपूर्वक कात्यायनी देवीको पूजा आराधना गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई जीवनमा सुख, शान्ति र उन्नतिको मार्ग खुल्ने विश्वास गरिन्छ।
मिथिला क्षेत्रमा बिहानैदेखि पूजाआराधना गर्ने परम्परा रहेको छ। भक्तजनहरूले व्रत बसेर देवीलाई विशेष नैवेद्य अर्पण गर्दै घर–घरमा र मन्दिरहरूमा पूजा गरेका छन्। जनकपुरस्थित विभिन्न शक्तिपीठमा पूजापाठमा विशेष भीड देखिएको छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार कात्यायनी देवीलाई महिषासुरमर्दिनीका रूपमा पनि स्मरण गरिन्छ। उनी ज्ञान, पराक्रम र साधनाको प्रतीक मानिन्छिन्। यस दिन विवाह योग्य युवतीहरूले मनोकामना पूरा होस् भन्ने उद्देश्यले व्रत बस्ने चलन पनि रहेको छ।नवरात्रको छैटौँ दिनसँगै शक्तिपीठ र देवीस्थानहरूमा दसैँको रौनक अझै बढेको छ। भक्तजनहरू देवीको कृपा प्राप्त गरी परिवारमा शान्ति, समृद्धि र ऐश्वर्य कायम रहोस् भन्ने कामना गर्दै पूजामा तल्लीन भएका छन्।
















