असोज ११, काठमाडौ । अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रमसम्बन्धी नियममा महत्त्वपूर्ण परिवर्तन गरेको छ। अबदेखि डीभी लटरीको दर्ता गर्न चाहने प्रत्येक आवेदकले एक अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ।
विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा प्रकाशित विवरणअनुसार, यो शुल्क अनलाइन विद्युतीय दर्ता प्रणालीमार्फत सङ्कलन गरिने छ। तर, शुल्क एक पटक तिरेपछि आवेदक चिट्ठामा नपरे पनि वा परेर भिसा नलिने निर्णय गरे पनि फिर्ता नहुने स्पष्ट गरिएको छ।
जानकारहरूले एक डलर रकम सानो भए पनि यसले डीभी लटरी कार्यक्रम सञ्चालनमा आएको ठूला परिवर्तनमध्ये एक भएको बताएका छन्। हालसम्म दर्ता निःशुल्क हुने गरेको यो कार्यक्रममार्फत विश्वभरिबाट हरेक वर्ष लाखौँ मानिसले आवेदन दिने गरेका छन्।
अमेरिकी सरकारका अनुसार, विजेताहरूबाट मात्र उठ्ने शुल्कले प्रशासनिक खर्च धान्न कठिन भएकाले अबदेखि सबै आवेदकले शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो। हालको तथ्यांकअनुसार बर्सेनि करिब साढे दुई करोड मानिस डीभी लटरीका लागि आवेदन दिने गर्छन्। नयाँ व्यवस्थापछि अमेरिकी सरकारले वर्षेनी करिब साढे दुई करोड डलर राजस्व सङ्कलन गर्ने अनुमान गरिएको छ।यस कदमले अमेरिकी सरकारले डीभी कार्यक्रमलाई थप व्यवस्थित, सुरक्षित र दुरुपयोगमुक्त र बिशेसत: डिभी कार्यक्रममा लाग्ने खर्च सहभागी बाट असुल गर्न बनाउन खोजेको देखिन्छ।















