धनुषामा मुसलधार वर्षा : सतर्क रहन मौसम विभागको आग्रह

साउन २८ , जनकपुरधाम। धनुषामा हिजै बेलुका देखि लगातार मुसलधार वर्षा भइरहेको छ। बिहान सबेरैदेखि नै आकाशमा कालो बादल मडारिँदै गर्जनासहित वर्षा सुरु भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको विभिन्न भूभागमा सक्रिय मनसुनका कारण धनुषालगायत मधेश प्रदेशका जिल्लामा पानी पर्ने क्रम बढेको छ।

मौसम विभागले जारी गरेको चेतावनीमा भनिएको छ कि भारी वर्षा हुने सम्भावित स्थानका नदी–नालामा पानीको बहाव तीव्र हुने, जलाशय र तटीय क्षेत्रमा डुबानको जोखिम बढ्ने, तराईका बस्ती तथा खेतबारीमा पानी जम्ने, पहाडी भूभागमा पहिरो जाने र सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने सम्भावना भएकाले स्थानीय बासिन्दाले विशेष सतर्कता अपनाउनुपर्छ। साथै, सडकमा यात्रा गर्दा सावधानी अपनाउन, अनावश्यक जोखिमपूर्ण स्थानतर्फ नजान र आपत्कालीन अवस्थाको लागि आवश्यक तयारी गर्न पनि अनुरोध गरिएको छ।

निरन्तरको वर्षाका कारण जनकपुरधामलगायत धनुषाका बजारहरू बिहानदेखि नै सुनसान देखिएका छन्। पसलहरू आंशिक मात्र खुलेका छन् भने दैनिक यातायात सेवामा समेत असर परेको छ। पैदल यात्रुहरू छाता, बरसाती र प्लास्टिकका सहारामा यात्रा गरिरहेका छन्। पानीको निकास प्रणाली कमजोर भएका क्षेत्रहरूमा सडक र गल्लीहरूमा पानी जम्न थालेको छ।

यद्यपि, यस वर्षाले कृषक समुदायलाई भने ठूलो राहत पुर्‍याएको छ। केही दिनदेखि भइरहेको निरन्तरको वर्षापछि खेतमा पर्याप्त पानी पुगेको छ। वर्षाले सिँचाइ सुविधाविहीन क्षेत्रका किसानलाई पनि रोपाइँ गर्न सहज भएको छ।
सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ पहिले नै सकिएको भए पनि वर्षाको पानी भरपर्दा बाँकी खेतहरूमा धमाधम धान रोपाइँ भइरहेको छ। किसानका अनुसार यस वर्ष पानीको पर्याप्तता हुँदा धान बाली राम्रो हुने अपेक्षा गरिएको छ।

धनुषामा अहिलेको वर्षा अझ केही दिन निरन्तर रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। यसैले एकातिर जनजीवन केही समय असहज हुने भए पनि कृषकहरूको अनुहारमा भने वर्षाले हरियाली ल्याएको छ।

  • सम्बन्धित समाचारहरु

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more

    युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो” : मन्त्री पोखरेल

    Read more

    Leave a Reply