श्रावण १८, काठमाडौ ।साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक ६३.७३ अंकले घट्दै २८५८.०८ बिन्दुमा पुगेको छ। पछिल्लो केही समय यता घट्दो बजार प्रवृत्तिका कारण लगानीकर्ता पुनः अन्योलमा परेका छन्।
१३ अर्ब बराबरको कारोबार
आज दिनभरि भएको कारोबारमा ३ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम करिब १३ अर्ब रुपैयाँ पुगेको छ। यो गत साताको तुलनामा उच्च कारोबार रकम भए पनि बजार परिसूचक भने ओरालो लागेको छ।
अधिकांश कम्पनीको सेयर मूल्य घट्यो
नेप्सेमा सूचीकृत २३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने केवल १६ कम्पनीको मात्र मूल्य बढेको छ। ट्रेंड टावर र शिवश्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो भने सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले र समता घरेलु लघुवित्तको मूल्य ९.९६ प्रतिशतले घटेको छ।
नेपाल रि र हिमालय रि अगाडि
कारोबार रकमका आधारमा नेपाल रि इन्सुरेन्स कम्पनीले ७५ करोड रुपैयाँको कारोबार गर्दै अग्रस्थानमा रह्यो। त्यसपछि हिमालय रि इन्सुरेन्सले ७१ करोड, हिमालयन डिस्टिलरीले ५८ करोड, र शिभम् सिमेन्टले ५५ करोडको कारोबार गरेका छन्।
सबै समूहका सूचक घटे
आज सेयर बजारका सबै समूहको परिसूचक ओरालो लागेको छ। अन्य समूह ३.४८ प्रतिशतले घटेर सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यस्तै, बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ र व्यापार समूह १.४३ प्रतिशतले घटेका छन्।

















