नेपालमा सम्बन्धविच्छेदको रेकर्ड ब्रेक: एक वर्षमै साढे २४ हजारभन्दा बढी डिभोर्स

श्रावण १९, जनकपुरधाम। नेपालमा पछिल्ला केही वर्षयता सम्बन्धविच्छेदको दर तीव्र गतिमा बढिरहेको छ। विगतमा लाज, सामाजिक दबाब र कानुनी पहुँच नहुनाले यस्तो विषय गोप्य राखिन्थ्यो, तर अहिले भने सम्बन्धविच्छेद खुल्ला रूपमा दर्ता हुने मात्र होइन, सामान्यीकरणतर्फ गइरहेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै २४ हजार ५२२ वटा सम्बन्धविच्छेद अनलाइनमार्फत दर्ता भएका छन्। वैशाखदेखि असार महिनासम्मको तीन महिनाको अवधिमा मात्रै ६ हजार ४९५ डिभोर्स दर्ता हुनुले यो दर झनै चकित पार्ने खालको देखिन्छ। अघिल्लो वर्ष २३ हजार ३५५ वटा सम्बन्धविच्छेद भएका थिए।नेपालमा कानुनी रूपमा सम्बन्धविच्छेद दर्ता गर्ने प्रथा २०४२ सालबाट सुरु भएको हो। त्यसवर्ष जम्मा २१ वटा मात्रै डिभोर्स दर्ता भएका थिए। तर पछिल्लो ४० वर्षमा यस्तो संख्या एक लाख १० हजार नाघिसकेको छ, जसमा ९५ प्रतिशतभन्दा बढी डिभोर्स पछिल्ला ११ वर्षमा मात्र भएका हुन्।

वाग्मती प्रदेश, विशेषतः काठमाडौंमा सम्बन्धविच्छेदको संख्या सबैभन्दा धेरै देखिएको छ। यसको तुलनामा मधेश प्रदेशमा भने सबैभन्दा कम डिभोर्स दर्ता भएका छन्। यसले सांस्कृतिक मूल्य, सामाजिक संरचना र जीवनशैलीको भिन्नता प्रष्ट पार्छ।

डिभोर्स गर्ने पुरुषमध्ये ३०–३४ वर्ष समूहका २६.२ प्रतिशत रहेका छन् भने ३५–३९ वर्षका २१.८ प्रतिशत र २५–२९ वर्षका २० प्रतिशत छन्। महिलातर्फ सबैभन्दा धेरै सम्बन्धविच्छेद २५–२९ वर्ष समूहले गरेका छन्, जसको दर २९.७ प्रतिशत रहेको छ।

सन्तान र सम्बन्धविच्छेदको सम्बन्ध
तथ्यांक अनुसार सम्बन्धविच्छेद गर्ने जोडीमध्ये ३५.१ प्रतिशतसँग सन्तान थिएन भने ३७.६ प्रतिशतसँग एक सन्तान थियो। दुई सन्तान भएका २१.१ प्रतिशत र पाँच वा सोभन्दा बढी सन्तान भएका ०.४ प्रतिशत रहेका छन्।

१९ वर्षभन्दा कम उमेरमा डिभोर्स गर्ने महिलाको संख्या ३४१ रहेको छ भने पुरुष ५० जना थिए। यसैगरी ५० वर्षभन्दा माथिको उमेर समूहमा पनि ९८८ महिला र २ हजार ४२८ पुरुषले सम्बन्धविच्छेद गरेका छन्, जसले यो समस्या कुनै विशेष उमेर समूहमा मात्र सीमित नरहेको देखाउँछ।

सुदूरपश्चिम प्रदेशमा २५–२९ वर्षका पुरुषबाट सबैभन्दा बढी डिभोर्स भएको छ भने कर्णाली प्रदेशमा २५ वर्षभन्दा कम उमेरका ११.५ प्रतिशत पुरुषले डिभोर्स गरेका छन्।नेपालमा डिभोर्स गर्नेमा केही विदेशी नागरिकहरू पनि छन्। ३७ हजारभन्दा बढी पुरुषमध्ये ३६ जना विदेशी थिए, जसमध्ये १५ भारतीय, ३ अमेरिकी, ३ अस्ट्रेलियन थिए। महिलातर्फ १२६ जना विदेशी डिभोर्सदातामध्ये ५७ जना भारतीय, १४ अमेरिकी, ७ भुटानी र ७ फिलिपिनी रहेका छन्।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more

    Leave a Reply