श्रावण १८, काठमाडौ ।कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले पुनः सक्रियता देखाएको छ। गृहमन्त्री रमेश लेखकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई घटनाको गम्भीर, निष्पक्ष र सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएका छन्। आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले निर्मला प्रकरणमा कुनै कसर बाँकी नराख्न र दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशन दिए।
निर्मला पन्तको १३ वर्षको उमेरमा २०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा बलात्कारपछि हत्या गरिएको थियो। तर पाँच वर्ष बितिसक्दा पनि अपराधी पत्ता नलाग्नुले न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाइरहेको छ। यही पृष्ठभूमिमा मन्त्री लेखकको नयाँ निर्देशनलाई जनताले आशाको संकेतका रूपमा हेरेका छन्।
गृहमन्त्री लेखकले सिआइबीलाई थप प्रविधि, स्रोत साधन, र दक्ष जनशक्तिबाट सशक्त बनाउने प्रतिबद्धता समेत जनाएका छन्। उनले हालै देशभर बढ्दो वित्तीय अपराध नियन्त्रण गर्न ‘वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन गरिएको जानकारी दिँदै, प्रहरीले सशक्त रूपमा काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे।
सो अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले ब्युरोले हालसम्म गरेका अनुसन्धान, सफलताका साथै चुनौतिका विषयमा जानकारी दिएका थिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबी प्रमुख चन्द्रकुवेर खापुङ लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

















