२८ बैशाख , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशन गरेको हो ।
यस वर्षको एसइई परीक्षामा कुल ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर सेवा, वेबसाइट तथा मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, युएसएसडी तथा आईभीआर सेवा उपलब्ध हुनेछ । त्यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ र एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिने बोर्डले जनाएको छ । साथै विभिन्न प्राविधिक साझेदारका वेबसाइट तथा मोबाइल एपबाट समेत नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
यस वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको बोर्डले जनाएको छ । परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको तथा प्रत्येक तेस्रो दिनमा प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको थियो । यस्तै परीक्षा सम्पन्न भएको चौथो दिनमै विद्यार्थीको प्राप्तांक परीक्षा नियन्त्रण कार्यालयमा पुग्ने गरी व्यवस्थापन मिलाइएको बोर्डले जानकारी दिएको छ ।
















