३ साउन,ढाका (बंगलादेश)। बंगलादेशको ढाकामा सम्पन्न १०औँ दक्षिण एसियाली कराते महासंघ (SAKF) च्याम्पियनसिपमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै सर्वाधिक ५२ पदकसहित समग्र टोलीतर्फ पहिलो स्थान हासिल गरेको छ।
क्याडेट, जुनियर, यू–२१ तथा सिनियर सबै तौल समूहमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै २७ स्वर्ण, १४ रजत र ११ कांस्य गरी कुल ५२ पदक जितेका हुन्। नेपालले स्वर्ण पदकको आधारमा भारतलाई पछि पार्दै दक्षिण एसियाली करातेमा आफ्नो वर्चस्व स्थापित गरेको हो।
प्रतियोगिताको टिम कुमितेतर्फ महिला तथा पुरुष दुवै विधामा नेपालले स्वर्ण पदक जितेको छ। विशेषगरी पुरुष टिम कुमितेमा पहिलो पटक भारतलाई पराजित गर्दै नेपालले ऐतिहासिक सफलता हात पारेको नेपाली टोलीले जनाएको छ।
प्रतियोगितामा हिमालयन वारियरकी एरिका गुरुङले ६८ केजीमाथिको तौल समूहमा लगातार तेस्रो पटक स्वर्ण पदक जित्दै स्वर्ण ह्याट्रिक पूरा गरेकी छन्। त्यस्तै, २०औँ एसियाली खेलकुद (नागोया) का लागि छनोट भएका काता तथा कुमितेका सम्पूर्ण नेपाली खेलाडीहरूले पनि स्वर्ण पदक जित्न सफल भएका छन्।
यस ऐतिहासिक उपलब्धिपछि प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठसहित सम्पूर्ण प्रशिक्षक टोली, व्यवस्थापक, खेलाडी, अभिभावक तथा विभिन्न प्रदेशका नेतृत्वकर्ताप्रति बधाई तथा आभार व्यक्त गरिएको छ।
दक्षिण एसियाली कराते महासंघ (SAKF) अन्तर्गत आयोजित उक्त च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाका करिब ५५० खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा दक्षिण एसियाका उत्कृष्ट खेलाडीहरूको प्रतिस्पर्धाले च्याम्पियनसिपलाई उच्चस्तरीय बनाएको आयोजकले जनाएको छ।
नेपाली कराते टोलीले यस उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा थप उँचो बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै ऐतिहासिक सफलता दोहोर्याउने विश्वास व्यक्त गरेको छ।
टोलीमा सहभागी प्रशिक्षक बिरेन्द्र कर्णले नेपाली खेलाडीहरूको अनुशासन, कडा मेहनत र उत्कृष्ट प्रदर्शनकै परिणामस्वरूप नेपालले समग्रमा पहिलो स्थान हासिल गर्न सफल भएको जानकारी दिएका छन्। उनले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि नेपाली टोलीले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

















