सिताराम विवाह पञ्चमी महोत्सवको पाचौं दिन मटकोर विधि धुमधामका साथ सम्पन्न

मंसिर ८, जनकपुरधाम।  ऐतिहासिक तथा धार्मिक महत्वका साथ मनाइने सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत आज पाँचौँ दिनको प्रमुख आकर्षण मटकोर विधि जनकपुरधाममा धुमधामपूर्वक सम्पन्न भएको छ। जनकपुरको परम्परागत मिथिला संस्कृति झल्किने यस विशेष विधिमा स्थानीयवासी, साधु–सन्त, पुरोहित तथा देश–विदेशबाट आएका हजारौं भक्तजनको उल्लेखनीय उपस्थितिले जनकपुरधाम झनै भक्तिमय बनेको थियो।

आज बिहानैदेखि जानकी मन्दिर परिसर तथा परिक्रमा क्षेत्रमा धार्मिक झाँकी, बाजागाजा, वैदिक मन्त्रोच्चारण र सांस्कृतिक झाकी सहितको शोभायात्राले वातावरण रमणीय बनेको थियो। परम्परा अनुसार जनकपुरका पुरोहित तथा वैदिक आचार्यहरूको नेतृत्वमा मटकोर विधिका लागि माटो उठाइने स्थानतर्फ विशेष जुलुस प्रस्थान गरेको थियो। मिथिला संस्कृतिमा अत्यन्त महत्वपूर्ण मानिने यो विधि भगवान राम–सीताको पवित्र विवाह संस्कारको अनिवार्य चरण मानिन्छ।

मटकोरका क्रममा सहभागी महिलाहरू परम्परागत मैथिली पोशाक, सिंदुर, अकुरी , धूप–दीप र कलश सहित उपस्थित भए। मटकोरको सांस्कृतिक झाँकीमा स्थानीय सांस्कृतिक टोलीले मैथिली गीत–भजन र नाच प्रस्तुत गरे, जसले भक्तजनलाई भावविह्वल बनाएको थियो।

विवाहपञ्चमी महोत्सव समितिका अनुसार भोलि छैटौं दिन स्वयंवर (राम जानकी मिलन) कार्यक्रम भव्यरूपमा आयोजना हुनेछ। सोही  दिन अर्थात् विवाहपञ्चमीको विशेष दिन सीता–रामको दिव्य विवाहोत्सव जानकी मन्दिर प्राङ्गणमा भव्यरुपमा सम्पन्न हुनेछ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more