मंसिर ९, जनकपुरधाम। आज जनकपुरधाममा राम–जानकी विवाहपञ्चमी महोत्सव धुमधामका साथ मनाइँदै छ। मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र देवी सीताको दिव्य विवाह भएको स्मरणमा हरेक वर्ष मनाइने यो ऐतिहासिक पर्वका कारण जनकपुरधाम आज बिहानैदेखि श्रद्धालु भक्तजनले खचाखच भरिएको छ। एक सातादेखि निरन्तर चलिरहेका तिलकोत्सव, मटकोर, स्वयंवरदेखि वैवाहिक संस्कारसम्मका कार्यक्रमहरू आज मुख्य वैवाहिक विधिसँग जोडिँदा जनकपुरको वातावरण अझै आध्यात्मिक बनेको छ। मिथिला परम्परा अनुसार राममन्दिरबाट बाजागाजा, डोला र झाँकीसहित भगवान् रामको प्रतिमालाई तथा जानकी मन्दिरबाट देवी सीताको प्रतिमालाई भव्य रूपमा सजाइएका डोलामा राखी बारहविघा मैदानसम्म लैजाने प्रचलन वर्षौँदेखि निरन्तर चल्दै आएको छ। त्यहाँ स्वयंवर, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई पुनः जानकी मन्दिरमा ल्याई मिथिला परम्पराअनुसार विवाह गरिने चलन आज पनि यथावत छ।
त्रेतायुगमा राजा जनकले छोरी सीताको स्वयंबरका लागि राखेको पवित्र शिवधनुष रामले उचाली भङ्ग गरेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन भएको दिव्य विवाहलाई जनकपुरधामका मिथिलावासीहरूले आज पनि विशाल सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन्। उनीहरूको विश्वास छ—देवी–देवताहरू अदृश्य रूपमा भए पनि जन्तीका रूपमा सहभागी हुन्छन् र सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासीका घर–परिवारमा यो पर्वले विशेष महत्व राख्छ। आजको दिन विहानैदेखि सर्वसाधारणले पवित्र सरोवरहरूमा स्नान गरी पूजाअर्चना, भजन–कीर्तन, प्रवचन र रामलीलामा सहभागी हुने परम्परा रहेकाले जनकपुरधामको प्रत्येक गल्ली, चौक र मठ–मन्दिर धार्मिक गीत, बाजागाजा र उत्साहले भरिएको छ।
विवाहपञ्चमी महोत्सवको विशेषता भनेको यहाँको सांस्कृतिक सम्पदा, मिथिला सभ्यता र आध्यात्मिक आस्थाको सजीव प्रस्तुति हो। फूलवारी प्रसङ्गदेखि स्वयंवर र विवाहसम्मका प्रत्येक चरणलाई नाटक, झाँकी र वैवाहिक विधिद्वारा मूर्त रूप दिनुले महोत्सव अझै भव्य र आकर्षक बनेको छ। भगवान् रामलाई मर्यादा पुरुषोत्तम, सगुण विष्णुका अवतार तथा निर्गुण ब्रह्मका रूपमा पूजिने परम्परा रहेकाले र देवी सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा र योगमायाको रूपमा श्रद्धा गरिने भएकाले यो दिव्य मिलनलाई मिथिलावासीहरू आफ्नो सांस्कृतिक पहिचान र आस्थासँग प्रत्यक्ष जोडेर मनाउँछन्। आजको मुख्य विवाह समारोहसँगै जनकपुरधाम आध्यात्मिक ऊर्जा, सांस्कृतिक रौनक र भक्तिभावले उज्यालो बनेको छ।
















