माघ ११ गते , काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने तथ्यहीन र भ्रामक सामग्रीविरुद्ध कारबाही गर्न माथिल्लो आदेश कुर्नु नपर्ने स्पष्ट निर्देशन दिएका छन्।
आइतबार गृहमन्त्री अर्यालसहितको टोलीले नेपाल प्रहरीको साइबर ब्युरो (भोटाहिटी) तथा हनुमानढोकास्थित पुरानो काठमाडौँ प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेको हो। टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं सहसचिव आनन्द काफ्ले सहभागी थिए।
साइबर ब्युरोमा आयोजित छलफलका क्रममा गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न सामाजिक सञ्जालको प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गरे। उनले अमर्यादित, कानुनले वर्जित तथा तथ्यहीन सामग्रीलाई सूक्ष्म ढंगले निगरानी गर्दै अवैधानिक र दर्ताबिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालमाथि नियमन गर्न ब्युरोको भूमिका महत्त्वपूर्ण हुने बताए।
ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबिन्द अर्यालबाट नियमित र विशेष सेवाबारे जानकारी लिएपछि मन्त्री अर्यालले निर्वाचन अवधिमा अझ सक्रिय भई स्वचालित रूपमा निगरानी बढाउन निर्देशन दिए। सामाजिक सञ्जालमा फैलाइने भ्रम, मिथ्या सूचना तथा अवैधानिक पोस्टहरूलाई तुरुन्त कानुनी दायरामा ल्याउन उनले जोड दिएका छन्।
समाजमा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि रोक्न र फागुन २१ गते हुने निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन साइबर ब्युरोले थप तदारुकताका साथ काम गर्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्री अर्यालले तथ्यपरकता परीक्षण गरी जो–कोहीबाट पोस्ट गरिएका भ्रामक सामग्रीमाथि कानुनी कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।

















