३ साउन , काठमाडौ । सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्य खुश्बु ओलीलाई धम्की दिने तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्तासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१६ निवासी तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि फेसबुकमार्फत सांसद ओलीलाई लक्षित गर्दै धम्कीपूर्ण तथा मानहानि हुने प्रकृतिका सामग्री पोस्ट गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका तेजेन्द्रप्रसाद पौडेल रास्वपाका सदस्य हुन्। यद्यपि उनी पार्टीको कुनै औपचारिक संगठनात्मक जिम्मेवारीमा नरहेको जिल्ला तहको पार्टी स्रोतले जनाएको छ।
चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सांसद ओलीविरुद्ध परेको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूको पहिचान गरी चितवन प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई अदालतबाट म्याद थप गर्न नसकिएको प्रहरीले जनाएको छ। त्यसैले पक्राउ परेका दुवै जनाको विस्तृत विवरण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार सोमबार अदालतबाट म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइनेछ। हालको कानुनी व्यवस्थाअनुसार साइबर अपराधसम्बन्धी जाहेरी जहाँ दर्ता भए पनि अनुसन्धान तथा कारबाही देशका जुनसुकै प्रहरी कार्यालयबाट अघि बढाउन सकिने व्यवस्था रहेको छ।

















