सहमति टिकेन, गौर–६ सवगढामा फेरि झडप उग्र : स्कार्पियोमा आगजनी, स्थिति तनावग्रस्त

रौतहट, ९ फागुन — गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीच भएको ६ बुँदे सहमति कार्यान्वयन नहुँदै शनिबार बिहान पुनः झडप भड्किँदा अवस्था तनावग्रस्त बनेको छ। बिहान करिब ९ बजेदेखि सुरु भएको ढुंगा–मुढा झडप उग्र बन्दै जाँदा भीडले एक स्कार्पियो गाडीमा आगजनीसमेत गरेको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका अधिकारी रामहरी अधिकारी स्वयं घटनास्थल पुगेर कमाण्ड सम्हालिरहेका छन्।
यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहट मा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। सहमतिमा सामाजिक सद्भाव कायम राख्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो। तर सहमति भएको २४ घण्टा नबित्दै पुनः झडप भएपछि स्थानीय क्षेत्रमा त्रास र तनाव फैलिएको छ।
प्रहरीका अनुसार घटनाको पृष्ठभूमिमा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाने क्रममा भएको विवाद रहेको छ। बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ जाँदै गरेको जन्तीमाथि ढुंगा प्रहार भएपछि विवाद चर्किएको थियो। उक्त घटनामा यसअघि पनि दर्जनौँ व्यक्ति घाइते भएका थिए।
गएराति भएको झडपमा ६ जना घाइते भएका थिए। उनीहरूको प्रादेशिक अस्पताल गौर मा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तर शनिबार बिहान पुनः चारदेखि पाँच सय जनाको भीड जम्मा भई झडप सुरु भएपछि स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएको थियो।
अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप वस्यालले जानकारी दिएका छन्। हाल क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more