रौतहट क्षेत्र नं. ३ मा विवाद: प्रभु साहको अभिव्यक्तिपछि टिकटकर रौनक नवीन चिन्तित

९ फागुन, रौतहट । प्रेमचन्द्र झा— रौतहटको क्षेत्र नम्बर ३ का निवर्तमान सांसद प्रभु साहको सार्वजनिक अभिव्यक्तिपछि टिकटकर तथा कलाकार रौनक नवीनले आफू चिन्तित भएको बताएका छन्।
सार्वजनिक मञ्चमा प्रभु साहले आफूलाई रवि र बालेनका छाेरा-नातीहरुले बोल्न नदिएको प्रसंग उल्लेख गर्दै कडा तथा गाली शैलीमा अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही भिडियोको सन्दर्भमा रौनक नवीनले “जनताले आफ्ना प्रतिनिधिसँग प्रश्न गर्न पाउने अधिकार हुन्छ” भन्ने आशयको अर्को भिडियो सार्वजनिक गरेका थिए।
नवीनद्वारा सार्वजनिक गरिएको उक्त भिडियो रौतहट क्षेत्र नं. ३ लगायत विभिन्न स्थानमा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा फैलिएको छ। त्यसपछि आफूलाई विभिन्न किसिमका दबाब र धम्कीपूर्ण सन्देशहरू आएको नवीनले दाबी गरेका छन्।
उनका अनुसार केही व्यक्तिहरू घरमै पुगेर “अब प्रभु साहले तिमीलाई छोड्दैनन्” लगायतका चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्। साथै, विभिन्न माध्यमबाट डर–त्रास फैलाउने प्रयास भएको उनले भिडियो सन्देशमार्फत बताएका छन्।
घटनापछि स्थानीय स्तरमा निर्वाचनको वातावरण प्रभावित हुन सक्ने भन्दै नागरिक समाजका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले लोकतान्त्रिक व्यवस्थामा जनताले आफ्ना प्रतिनिधिसँग प्रश्न उठाउन पाउने अधिकार सुरक्षित रहनुपर्ने बताएका छन्।
यस विषयमा सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। निर्वाचन नजिकिँदै गर्दा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more