१ साउन , काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कानुनी राज्यको उल्लंघन गर्दै समाजमा अराजकता फैलाउने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको नयाँ वेबसाइट तथा एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको आलोचना गर्ने वा विरोधमा उत्रिने युवाहरूलाई धम्की र त्रास देखाउने प्रवृत्ति बढेको दाबी गरे।
उनले सरकारले विरोधका आवाज दबाउन घर, कार्यालय तथा सञ्चारमाध्यमका कार्यालय अगाडि सवारीसाधन तेस्र्याएर अवरोध सिर्जना गर्ने गरेको आरोप लगाए। शान्तिपूर्ण रूपमा असहमति व्यक्त गर्ने र विरोध जनाउने नागरिकको संवैधानिक अधिकारमाथि समेत अंकुश लगाउने प्रयास भइरहेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले सरकार तानाशाही र फासीवादी बाटोतर्फ उन्मुख भएको टिप्पणी गर्दै संसद् तथा राज्यका तीनवटै अङ्ग कार्यकारीको इच्छाअनुसार चल्न बाध्य पारिएको आरोप लगाए। बजेटजस्तो महत्त्वपूर्ण विषयमा पनि सीमित समय छलफल गराएर पारित गरिनु त्यसको उदाहरण भएको उनको दाबी थियो।
कार्यक्रममा अध्यक्ष ओलीले एमाले कुनै अरूको सहारामा उभिएको पार्टी नभई आफ्नै संघर्ष, बल र जनसमर्थनका आधारमा स्थापित भएको उल्लेख गरे। उनले एमालेले विगतमा अनेकौँ चुनौतीको सामना गर्दै अघि बढेको र आगामी दिनमा पनि जुनसुकै परिस्थितिलाई सामना गर्ने क्षमता राख्ने बताए।

















