३० चैत, तनहुँ । आँबुखैरेनी गाउँपालिका ले नयाँ शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान र पठन–पाठन सञ्चालनबारे महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।
गाउँ कार्यपालिकाको मिति २०८२ चैत ३० गतेको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वैशाख २ गतेदेखि नै भर्ना अभियान र नियमित पठन–पाठन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले मिति २०८२ चैत २६ गतेको पत्रमार्फत वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि पठन–पाठन सुरु गर्ने निर्णय गरेको थियो। तर स्थानीय तहको अधिकार क्षेत्रभित्र आधारभूत तथा माध्यमिक तहको शिक्षा व्यवस्थापन पर्ने संवैधानिक व्यवस्थालाई आधार मानेर आँबुखैरेनी गाउँपालिकाले स्थानीय आवश्यकताअनुसार अग्रिम मिति निर्धारण गरेको जनाएको छ।
गाउँपालिकाले आफ्नो शैक्षिक क्यालेन्डरअनुसार सबै विद्यालयलाई समयमै भर्ना प्रक्रिया सम्पन्न गरी नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, विद्यार्थी सहभागिता बढाउँदै शिक्षण–सिकाइ गतिविधि प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।



















