पुस २९, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिका–२, औरैया स्थित दशगजा नजिक आँपको रुखमुनि एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार मिति २०८२ साल पौष २९ गते करिब बिहान ११:०० बजेको समयमा करिब ३५ देखि ४० वर्ष उमेरको जस्तो देखिने नाम, थर र वतन नखुलेको पुरुष व्यक्ति खाली जमिनमा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी औरैयाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली तत्काल घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थल सुरक्षित गरी थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई सूचित गरेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक रुद्राज कंडेलको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
मृतक पुरुषको पहिचान हुन नसकेको र हालसम्म आफन्त वा चिनजानका व्यक्ति सम्पर्कमा नआएकाले पहिचान गर्न सक्ने व्यक्ति वा कुनै जानकारी हुनेले जिल्ला प्रहरी कार्यालय रौतहटको मोबाइल नम्बर ९८५५०४०९९९, ९८५५०९०३७४ वा हटलाइन नम्बर १०० मा सम्पर्क गरी जानकारी गराइदिन प्रहरीले हार्दिक अनुरोध गरेको छ।
















