देउवाको राजीनामामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

पुस २९, काठमाडौ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्तामा सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति जुट्न नसक्दा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ।
छलफलमा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षधरले सभापति देउवाले राजीनामा दिनुपर्ने वा सक्रिय राजनीति छोड्ने घोषणा गर्नुपर्ने माग राखेका थिए। उक्त विषयमा सहमति नजुटेपछि थप संवाद आवश्यक ठहर गर्दै वार्ता अस्थायी रूपमा स्थगित गरिएको हो।
‘अरू विषयमा खासै समस्या भएन,’ ती नेताले भने, ‘तर नेतृत्वले राजीनामा गर्ने वा सक्रिय राजनीति छोड्ने भन्ने विशेष पक्षको मागमा कुरा मिल्न सकेन। त्यसबारे थप छलफल गर्नुपर्ने भएकाले एक घण्टाका लागि वार्ता स्थगित गरिएको छ।’
संवादमा सहभागी नेताहरूले सभापति देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताबारे निर्णय गर्ने अधिकार आफूहरूमात्रैसँग नरहेको भन्दै शीर्ष नेतृत्वसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। अब उक्त विषयमा वार्तामा सहभागी नेताहरूले पार्टीका शीर्ष नेतासँग परामर्श गर्ने जनाइएको छ।
त्रिपक्षीय वार्तामा विशेष महाधिवेशन पक्ष (गगन–विश्व) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए। सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार र मीनेन्द्र रिजाल वार्तामा सहभागी थिए।
नेतृत्वको भूमिकालाई लिएर सहमति नजुट्दा कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more