रोल्पामै हुन्छ अफिम र गाँजा खेती तर किसान फेला पर्दैनन

१७ असार, रोल्पा — रोल्पामा पछिल्लो पाँच महिनाको अवधिमा प्रहरीले करिब ५६ रोपनी क्षेत्रफलमा लगाइएको अफिम तथा गाँजा खेती नष्ट गरेको छ। तर, ठूलो परिमाणमा अवैध खेती फडानी गरिए पनि यसमा संलग्न अधिकांश किसान अझै प्रहरीको पहुँचबाहिर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार २०८२ फागुनदेखि २०८३ असार १२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा लगाइएको अफिम र गाँजा खेती नष्ट गरिएको हो। यस अवधिमा परिवर्तन गाउँपालिका–४ तातापानीमा २०८२ फागुन ३० गते एक किसानले लगाएको ७०० बोट अफिम नष्ट गरिएको थियो।

त्यसपछि २०८२ चैत २४ गते गोप्य सूचनाका आधारमा थवाङ गाउँपालिका–४ अन्तर्गत गुराँसे, लेक, थर्पु, जालकी, छोरवाङ र लुटाङ लगायतका क्षेत्रमा करिब ५५ रोपनी जग्गामा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको थियो।

यस्तै, २०८३ असार १२ गते त्रिवेणी गाउँपालिका–६ को ऐलानी पाखो जमिनमा आफैं उम्रिएको करिब २,५०० गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए। उनका अनुसार उक्त गाँजा करिब एक रोपनी क्षेत्रफलमा फैलिएको थियो।

प्रहरीका अनुसार पछिल्लो पाँच महिनामा जिल्लाभर ठूलो परिमाणमा अफिम र गाँजा खेती नष्ट गरिएको छ। केही दिनअघि मात्रै पनि गाँजा फडानी अभियान सञ्चालन गरिएको थियो।

तर, अवैध खेती व्यापक रूपमा फडानी गरिए पनि त्यसमा संलग्न किसानहरू पक्राउ नपर्नुले सुरक्षा निकायमाथि प्रश्न उठ्ने गरेको छ। हालसम्म अफिम खेती गरेको आरोपमा परिवर्तन गाउँपालिका–४ तातापानीका ६० वर्षीय धनसिंह वली मात्र पक्राउ परेका छन्। उनी हाल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

थवाङ गाउँपालिकाका विभिन्न स्थानमा गरिएको ठूलो परिमाणको अफिम खेती नष्ट भए पनि त्यहाँबाट कुनै पनि किसान पक्राउ परेका छैनन्। त्यस्तै, त्रिवेणी गाउँपालिका–६ मा गाँजा नष्ट गरिएको स्थानबाट पनि कसैलाई नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुले लागुऔषध नियन्त्रण तथा दुर्व्यसन न्यूनीकरण प्रहरीको प्राथमिकता रहेको बताए। उनका अनुसार आफू जिल्ला आएपछि पनि गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ। यद्यपि, अवैध खेती गर्ने अधिकांश व्यक्ति अझै पक्राउ पर्न नसकेको तथ्य उनले स्वीकार गरे।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार छोटो समयमा धेरै आम्दानी हुने अपेक्षाले किसानहरू अफिम खेतीतर्फ आकर्षित हुने गरेका छन्। साथै, कानुनी व्यवस्था र त्यसका परिणामबारे पर्याप्त जानकारी नहुँदा पनि केही किसान अवैध खेतीतर्फ लागेको हुन सक्ने उनले बताए।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more